झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका अनलाइन सञ्चारमाध्यम ‘हाम्रोमत’ का कार्यकारी सम्पादक पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमाले निकट कार्यकर्ताले आक्रमण गरेका छन्।
कमल गाउँपालिका–स्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भनिएको ‘भोलेन्टियर्स फोर्स’ समूहका सदस्यहरूले बिहीबार दिउँसो कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। बा २५६१ नम्बरको स्कोरपियोमा आएका व्यक्तिहरूले उनीमाथि हातपात गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घरदैलो कार्यक्रमको गतिविधि पछ्याइरहेका बेला घटना भएको जनाइएको छ। घरदैलोका क्रममा केही स्थानीय महिलाले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाउँदै साङ्केतिक विरोध जनाएपछि वातावरण तनावपूर्ण बनेको थियो।
महिलामाथि दुर्व्यवहार भइरहेको दृश्य पत्रकार आचार्यले फोटो तथा भिडियोमा कैद गर्न खोज्दा उनीमाथि सामूहिक आक्रमण भएको बताइएको छ। आक्रमणकारीहरूले आचार्यको मोबाइल खोसेर लगेका छन् भने चस्मा फुटाइदिएको र शरीरका विभिन्न भागमा चोट लागेको सहकर्मी पत्रकारहरूले बताएका छन्।
घटनास्थलमा रहेका पत्रकारहरूले आचार्यलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका थिए। आक्रमणपछि समेत पत्रकार टोलीलाई लक्षित गर्दै ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिइएको पत्रकार रोहित दाहालले जानकारी दिए।
चुनावी रिपोर्टिङका क्रममा पत्रकारमाथि भएको आक्रमणप्रति पत्रकार महासङ्घ, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।





























