झापा । त्रिदेव बहुमुखी क्याम्पस चाराली झापाको आयोजना, वीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग तथा श्री कृष्णाश्रम माध्यमिक विद्यालय कन्याम इलामको स्थानीय व्यवस्थापनमा एकदिने तनाव व्यवस्थापन तथा जीवनशैलीसम्बन्धी तालिम सम्पन्न भएको छ।
श्री कृष्णाश्रम माध्यमिक विद्यालयको सभाहलमा आयोजित तालिममा सूर्योदय नगरपालिका क्षेत्रका तीन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत करिब ९० विद्यार्थी सहभागी थिए। कार्यक्रममा प्राध्यापक सेलिनाश्री तिमल्सिनाले विद्यार्थी उमेरमा देखिने तनाव, त्यसका कारण र व्यवस्थापनका उपायबारे सहजीकरण गरेका थिए।
क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टेकनाथ उप्रेतीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य राख्दै उप्रेतीले त्रिदेव बहुमुखी क्याम्पस पूर्व क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै समुदायसँग क्याम्पसको सम्बन्ध सुदृढ गर्न यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको बताए।
कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख भट्टराईले क्याम्पसले गुणस्तरीय शिक्षातर्फ फड्को मार्ने लक्ष्यसहित विविध शैक्षिक तथा सामाजिक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिएका थिए।
कार्यक्रम व्यवस्थापन गरेको श्री कृष्णाश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक कपिलमणि गडर्तौलाले क्याम्पसको पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। सहभागी विद्यालयका तर्फबाट फिक्कल माध्यमिक विद्यालयका शिक्षक भरतकुमार अधिकारीले विद्यार्थीका लागि कार्यक्रम उपयोगी रहेको बताए।
त्रिदेव बहुमुखी क्याम्पसका व्यवस्थापन विभाग प्रमुख तथा कार्यक्रम संयोजक सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा क्याम्पसका क्युए फोकल पर्सन ज्ञानकुमार खतिवडा, सहलेखापाल प्रदीप चौधरी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।






























