झापा । झापाको मेचीनगर र कमल गाउँपालिकामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मेचीनगर नगरपालिका–१० ताराबारीस्थित ५५–५६ वर्षीय घुटु उराव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन्। श्रीमती विष्णु उरावले मृत अवस्थामा देखेपछि विहीवार बिहान १०ः४५ बजे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराएकी थिइन्।
जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक नकुलराज गौतमको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतक पुरानो मधुमेह रोगी रहेको पारिवारिक स्रोतले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
यस्तै कमल गाउँपालिका–२ का ४४ वर्षीय विक्रम शेर्मा घरभित्रै अचेत अवस्थामा फेला परेका थिए। हिजो बिहान करिब ८ः३० बजे बहिनी ललिता शेर्माले घरको सुत्ने कोठाको भुइँमा उत्तानो परेको अवस्थामा भेटेपछि उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो। चिकित्सकले बिहान ८ः५० बजे उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। सूचना प्राप्त भएपछि प्रहरी चौकी तोपगाछीबाट प्रहरी निरीक्षक सुदीप कार्कीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा टोली खटिएको छ।
मृतक शेर्माको शव निम्स अस्पतालबाट दमक अस्पतालको शवगृहमा राखिएको छ। मृतककी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा रहेकाले उनी फर्किएपछि जाहेरी दिने तयारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






























