झापा ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संवेदनशील मानिएको झापा जिल्लामा सुरक्षा व्यवस्थापन थप सुदृढ बनाइएको छ ।
निर्वाचनको ‘इपीसेन्टर’का रूपमा हेरिएको जिल्लामा प्रहरी प्रधान कार्यालयले अन्य जिल्लाको तुलनामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । सुरक्षा अवस्थाको विश्लेषणका आधारमा झापामा प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित थप जनशक्ति खटाएको जनाइएको छ ।
निर्वाचन अवधिमा सुरक्षा समन्वय प्रभावकारी बनाउन बुधबारदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पनि परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेका अनुसार झापा र इलाम जिल्लाको सुरक्षा समन्वय गर्ने जिम्मेवारीसहित एसएसपी गोविन्द अधिकारीलाई खटाइएको हो ।
उनी कोशी प्रदेश तालिम केन्द्र, बिराटनगरमा कार्यरत थिए । केपी शर्मा ओली र बालेन शाह एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेकाले झापालाई सुरक्षा निकायले उच्च संवेदनशील जिल्लाका रूपमा वर्गीकरण गरी सुरक्षा सतर्कता बढाएको जनाइएको छ ।
जिल्लाको नियमित सुरक्षा कमाण्ड भने प्रहरी उपरीक्षक बसुन्धरा खड्का ले सम्हालिरहेकी छन् । प्रत्येक निर्वाचन क्षेत्रमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, मोरङ र सुनसरी जिल्लाको सुरक्षा समन्वयका लागि ज्ञानेन्द्र फुँयाल तथा उदयपुर र खोटाङका लागि योगेन्द्रसिंह थापालाई खटाइएको प्रहरीले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउने उद्देश्यले सुरक्षा निकायले बहुस्तरीय समन्वयलाई प्राथमिकता दिएको छ ।
यसैबीच आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर–५ मा संयुक्त सुरक्षा गस्ती शुरु गरिएको छ । आपराधिक गतिविधि नियन्त्रण, सम्भावित सुरक्षा चुनौति न्यूनीकरण तथा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार कुनै अप्रिय घटना हुन नदिन, निर्वाचन सुरक्षामा कुनै असर नपरोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार सुरक्षा जनशक्ति परिचालन गरी विभिन्न संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती भइरहेको छ । निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरीले जनाएको छ ।































