
सामान्य परिचय र महत्व
यस वर्ष फाल्गुन १५ गते आमलकी एकादशी परेको छ । फाल्गुण शुक्लपक्ष एकादशी तिथीलाई आमलकी एकादशीका नामले चिनिन्छ । यस दिन अमलामा भगवान विष्णुको वास रहनाले अमला सेवन गर्नु, दान गर्नु वा अमलाका बोटमुनी भोजन गर्नु गराउनु अत्यन्तै फलदायी रहने कुरा बताइएको छ ।
हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका एघारौँ तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथीलाई कृष्णपक्षको एकादशी भनिन्छ भने, औँशी वा अमावश्या पछि आउने तिथीलाई शुक्लपक्षको एकादशी तिथी भनिन्छ । हिन्दु सनातन सम्प्रदायमा यी दुवै प्रकारका एकादशी तिथीहरुको धेरै महत्व रहेको छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतहरुको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।
“अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्य कलां नार्हन्तिषोडशीम ।।”
अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि, हजार हजार अश्रवमेध यज्ञ र सयौँ राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन ।
अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा एक एक गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर मलमास वा अधिक मासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथी दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोश्रो दिन एकादशी व्रत राख्छन् ।
सबै एकादशीहरु उत्पत्तीका कथा, महत्व र व्रत विधिहरु बताइएको छ । ती विभिन्न एकादशीहरु मध्ये फाल्गुण कृष्णपक्ष एकादशी तिथिलाई विजया एकादशीका नामले चिनिन्छ । यसवर्ष फाल्गुण १५ गते आमलकी एकादशी परेको छ । सनातन धर्ममा आमलकी एकादशीको ठूलो महत्व रहेको बताइन्छ ।
एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्राप्तिका लागि एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महत्वका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।

“स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा हृोषा धनमित्रप्रदायिनी ।।
न गंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।”
एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थक्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर यस्ता पवित्र तीर्थस्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात एकादशीको महत्व ती सबैभन्दा उच्च छ ।
महाराज मन्धाता ब्रम्हर्षि वशिष्ठसँग बिन्ति गर्नुहुन्छ, “हे मुनीवर ! यदि हजुर मसँग प्रशन्न हुनुहुन्छ भने कृपापूर्वक मलाई कुनै यस्तो व्रतका बारेमा बताउनुहोस कि, जुन व्रत गर्नाले मेरो सम्पूर्ण प्रकारले कल्याण होस् ।”
महर्षि वशिष्ठ भन्नुहुन्छ, “हे राजन ! सबै व्रतहरु आफैँमा उत्तम छन्, तथापी आमलकी एकादशी सबै व्रतमध्ये उत्तम रहेको छ । यो व्रत गर्नाले सम्पूर्ण पापहरु नष्ट भएर जान्छन् । यो व्रत गर्नाले हजार गाई दान गरे बराबर पुण्य मिल्दछ । यस बारेमा म कथा सुनाउँछु, ध्यानर्पूक श्रवण होओस् ।”
वैदिक नामको एक नगरमा ब्रम्हाण, क्षत्री, वैश्य शुद्र चारै वर्णका परिवार मिलेर आनन्दपूर्वक बस्ने गर्दथे । त्यस नगरमा सदैव वेदध्वनी गुञ्जिन्थ्यो । त्यहाँ कोहिपनि पापी, दुराचारी र नास्तिक थिएनन् । त्यस नगरमा चैत्ररथ नाम गरेका चन्द्रवंशी राजा राज्य गर्दथे । सम्पूर्ण नगरवासीहरु भगवान विष्णुका परम भक्त थिए । सबै विधिपूर्वक एकादशीको व्रत पालना गर्ने गर्दथे ।
प्रत्येक वर्ष झैँ फाल्गुणशुक्लपक्षमा आमलकी एकादशी आयो । राजा, प्रजा, वाल वृद्ध सबैले हर्षोल्लासका साथ व्रत गरे। आप्mना प्रजाजनका साथमा राजा मन्दिर गएर कुम्भ स्थापित गरी धूप, दीप, नैवेद्य, पञ्चरत्न आदिले अमलाको पूजा गरी स्तुती गर्न लागे, हे धात्री ब्रम्हाजीद्धारा उत्पन्न हुनुभएकी, तमाम पाप नाश गर्नेवाली हजुरलाई मेरो प्रणाम छ । हजुर मेरो अघ्र्य स्वीकार गर्नुहोओस् । रामचन्द्रद्धारा पनि सम्मानित हजुरसँग म प्रार्थाना गर्दछु कि, हजुर मेरा पापहरुलाई समूल नष्ट गर्नुहवस् ।
सबैले रात्रीजागरण गरे । रातको समयमा त्यहाँ एउटा अत्यन्त पापी र दुराचारी शिकारी अयो । ऊ जीवहिंसाद्धारा आप्mना परिवार पाल्ने गर्दथ्यो । त्यसदिन उसलाई कुनै शिकार नमिलेकाले निराहार थियो । भोक र प्यासले अत्यन्तै व्याकुल व्याधा मन्दिरको एक कुनामा बस्यो । त्यहिबेला एकादशी महात्म्यकथा श्रवण गर्यो । उज्यालो भएपछि उसले भोजन गर्यो र केही समयपश्चात उसको मृत्यु भयो ।
आमलकी एकादशीको व्रत र कथा श्रवण गर्नाले अर्को जन्ममा त्यो व्याधाले विदुरथको घरमा जन्म लियो । उसको नाम वसुरथ राखियो । यस जन्ममा चतुरंगिणी सेना तथा धनधान्यले युक्त भएर दश हजार गाउँको पालन गर्ने भयो ।
ऊ तेजमा सूर्यसमान, कान्तिमा चन्द्रसमान र क्षमामा पृथ्वीसमान थियो । ऊ अत्यन्त धार्मिक, सत्यवादी, कर्मवीर एवं विष्णुभक्त राजा बन्यो । सबै प्रजाहरुलाई समानरुपले पालन गर्ने, यज्ञ गर्ने, दान पुण्य गर्ने जस्ता उनका दैनिक कर्तव्य थियो ।
एकदिन राजा वसुरथ शिकार खेल्न भनी वनतर्फ प्रस्थान गरे । अचानक मार्ग भूलेर एक वृक्षको नजिक पुगेर आराम गर्न लाग्दा त्यहिँ निदाए । केहीसमय पश्चात त्यहाँ एक म्लेच्छ आयो र राजालाई एक्लै देखेर मार मार भन्दै राजा भएतर्फ दोडियो । म्लेच्छ भन्न लाग्यो, यो राजाले हाम्रा माता पिता पुत्र लगायत कति आफन्तहरुलाई मार्यो र कतिलाई देश निकाला पनि गर्यो त्यसैले यसलाई पनि अवश्य मार्नुपर्दछ । यति भन्दै उसले राजालाई अस्त्रहरुद्धारा प्रहार गर्न लाग्यो । तर जति पनि अस्त्रहरु राजामाथि पर्दथे तिनीहरु निस्क्रिय हुन्थे र पूmल जस्तै नरम बन्दथे । उल्टै त्यो म्लेच्छमाथि अस्त्रहरु जाइलाग्न थाले । यो बेलासम्ममा राजा पनि शिथिल भइसकेका थिए । त्यसैबेला राजाका शरीरबाट एक दिव्य स्त्री उत्पन्न भइन् ।
ती सुन्दरी अत्यन्त सुन्दर वस्त्र तथा आभूषणद्धारा अलंकृत थिइन् । तर उनका आँखी भौँहरु बांगा थिए र आँखाबाट राता र ताता अग्निज्वालाहरु निस्किइरहेका थिए । उनी दौडेर म्लेच्छलाई मार्नका लागि आइन् र सबै म्लेच्छहरुलाई एकैछिनमा भष्म गरिदिइन् । अब घायल राजा उठ्न लागे र आप्mना अघि यी शत्रुहरु मरेको देखेर सोच्न थाले, यी शत्रुहरुलाई कसले मारेछ? त्यतिबैले आकाशवाणी भयो, “हे राजा! यस संसारमा विष्णु भगवानबाहेक तिम्रो मदत गर्ने अरु को नै हुन सक्छ र ?” यो आकाशवाणी पश्चात राजा आप्mनो नगरमा फर्किएर आए र सुखपूर्वक राज्य गर्न लागे ।
महर्षि वशिष्ठ भन्नुहुन्छ, “हे राजन ! यो सबै आमलकी एकादशीको व्रतको प्रभाव थियो । जो मनुष्य यस आमलकी एकादशीको व्रत गर्दछ, ऊ सबै कार्यमा सफल बन्दछ र अन्तमा विष्णुलोक प्राप्त गर्दछ । ”
व्रत विधान
यस दिन जगतका पालनकर्ता भगवान विष्णुलाई उहाँको परशुरामको रुपमा पूजा गरिन्छ । उपासकले विहान स्नानादी गरेर शरीर र चित्त शुद्ध राखी व्रतको संकल्प गर्नुपर्दछ र परशुरामको मूर्ती या तस्वीरमा श्रद्धाकासाथ पूजा गर्नुपर्दछ । अमलाको वृक्षलाई पूजनादी गरी “ॐनमो भगवते वासुदेवाय” मन्त्रको उच्चारण गर्दै यथाशक्ति परिक्रमा गर्नुपर्दछ ।
यदि साथमा अमलाको वृक्ष छैन भने भगवान विष्णुलाई प्रसादस्वरुप अमलाको फल अर्पण गर्नुपर्दछ । घ्यूमा बाती बालेर कपूरद्धारा श्री हरीको आरती गर्नुपर्दछ । व्रत विधिका लागि गुरु पुरोहितहरुसँग सल्लाह पनि लिन सकिन्छ ।



























