अरुण नदीको बेलीब्रिज भाँचियो

0
3
किमाथाङ्का  (सङ्खुवासभा),
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने  अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो ।
आज बिहान ९ः०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो ।
बेलीब्रिज भाचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर  दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।
घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।
यसमार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिन्छ । पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here