झापा । पहिचानवादी संस्थाहरूले आफ्ना एजेण्डामा प्रतिबद्धता नजनाउने उम्मेदवारविरुद्ध ‘नो भोट’ अभियान सुरु गरेका छन् ।
शनिबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत मुक्कुम्लुङ संरक्षण, केवलकार निर्माण विरोध तथा कोशी प्रदेश नामाकरणको विषयमा स्पष्ट प्रतिबद्धता नजनाउने राजनीतिक दल र उम्मेदवारलाई मतदान नगर्ने अभियान सुरु गरिएको जानकारी दिइएको हो ।

मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति र प्रदेश १ पुनः नामाङ्कन अभियान समिति ले संयुक्त रूपमा ‘सेभ मुक्कुम्लुङ, नो केबल कार, नो कोशी’ अभियान घोषणा गर्दै एजेण्डाप्रति प्रतिबद्धता नदेखाउने उम्मेदवारलाई बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
अभियानकर्मीहरूले आफ्नो संस्कृति र सभ्यतासँग जोडिएको मुक्कुम्लुङ क्षेत्र संरक्षण गर्न केवलकार निर्माण रोक्नुपर्ने तथा प्रदेशको नाम पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने माग अघि सारेका छन् । यससँगै १४ बुँदे माग सार्वजनिक गर्दै ‘पार्टी र जातिभन्दा माथि उठौँ, हाम्रो एजेण्डा स्वीकार्ने र कार्यान्वयन गर्ने उम्मेदवारलाई जिताऔँ’ भन्ने अपिल गरिएको छ ।
कार्यक्रमका वक्ताहरूले पहिचानका मुद्दामा स्पष्ट प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र समर्थन गर्ने र अन्यथा मतदान नगर्न मतदातालाई आग्रह गरेका थिए । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता धनबहादुर पंधाकले साझा सांस्कृतिक धरोहर मुक्कुम्लुङमा केवलकार निर्माण हुन नहुने र प्रदेशको नाम पहिचानअनुसार हुनुपर्ने माग पुरानै रहेको बताए । प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र मत दिन आह्वान गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा किराँत याक्थुम्चुम्लुङ का केन्द्रीय महासचिव तथा मुक्कुम्लुङ बचाउ संघर्ष समिति सदस्य निरन्ती तुम्बापो, सञ्जुहाङ पालुङ्वा, देशु वनेमलगायतले धारणा राखेका थिए ।
मुक्कुम्लुङ बचाउ संघर्ष समिति झापाका संयोजक हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रम किराँत याक्थुम्चुम्लुङ झापाकी सचिव भीममाया नेम्बाङले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा फोनिजका संस्थापक प्रदेश इञ्चार्ज दीपिन राई, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिके बेघा, त्रिनारायण राजवंशी तथा मानवअधिकारवादी नेता प्रेम घिसिङलगायत पहिचानवादी विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।






























