अल्फा विटा कन्सल्टेन्सीको रेनोभेट कार्यालय उद्घाटन, एआई स्मार्ट कक्ष सञ्चालनमा

0
5

झापा, पूर्वी नेपालको शैक्षिक परामर्श क्षेत्रमा सक्रिय संस्था अल्फा विटा कन्सल्टेन्सीले सेवा विस्तार र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै बिर्तामोडस्थित आफ्नो कार्यालयलाई नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको छ ।
आधुनिक संरचना र डिजिटल प्रविधिसहित पुनःनिर्माण गरिएको कार्यालयको उद्घाटन विशेष समारोहबीच सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपालका लागि पूर्व अष्ट्रेलियन राजदूत फेलिसिटी भल्क प्रमुख अतिथिका रूपमा सहभागी भएर कार्यालय उद्घाटन गरेकी थिइन् । उनले नेपालको युवा पुस्ता अन्तर्राष्ट्रिय शिक्षातर्फ आकर्षित भइरहेका सन्दर्भमा गुणस्तरीय शैक्षिक परामर्श संस्थाको भूमिका झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गरिन् । प्रविधिमा आधारित सिकाइ प्रणालीले विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्ने उनको भनाइ थियो ।
समारोहमा न्यूजिल्याण्डकी कन्सुलर लिजा चोइग्याल विशेष अतिथिका रूपमा सहभागी थिइन् । उनले नेपाल–न्युजिल्याण्डबीचको शैक्षिक सम्बन्ध विस्तारमा निजी शैक्षिक परामर्श संस्थाहरूले सेतुको काम गरिरहेको बताइन् । अन्तर्राष्ट्रिय अध्ययन रोज्ने नेपाली विद्यार्थीका लागि विश्वसनीय मार्गदर्शन आवश्यक रहेको उनले जोड दिइन् ।
कार्यक्रममा अल्फा विटा ग्रुपका कार्यकारी निर्देशक द्विराज शर्मा, व्यवसायी रामबाबु गिरी, दीपेश पाठक, टिका ढकाललगायत शिक्षा, व्यवसाय र सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अल्फा विटा बिर्तामोडका सञ्चालक दिवस भुर्तेलका अनुसार सन् २०१८ देखि बिर्तामोडबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले विद्यार्थीको बदलिँदो आवश्यकता र डिजिटल शिक्षण प्रवृत्तिलाई ध्यानमा राख्दै कार्यालयलाई नयाँ ढाँचामा रूपान्तरण गरेको हो ।
उनका अनुसार पूर्वी नेपालमै पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ‘स्मार्ट क्लासरुम’ स्थापना गरिएको छ । उक्त कक्षमार्फत विदेश अध्ययनको तयारी गर्ने विद्यार्थीलाई अन्तरक्रियात्मक सिकाइ, डिजिटल प्रस्तुति, भर्चुअल जानकारी र अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्बन्धी अद्यावधिक सामग्री उपलब्ध गराइनेछ ।
भुर्तेल स्वयं अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, अमेरिका तथा क्यानडाका लागि प्रमाणित शैक्षिक काउन्सेलर रहेको जानकारी दिँदै उनले विद्यार्थीलाई सही गन्तव्य छनोटमा वैज्ञानिक परामर्श आवश्यक हुने बताए ।
अल्फा विटाले १६ भन्दा बढी देशमा पाँच सयभन्दा बढी शैक्षिक परामर्शदाता, भिसा सहायक तथा विद्यार्थी सहायता प्रतिनिधिमार्फत सेवा विस्तार गरेको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्य, अध्ययन अवसरको अद्यावधिक जानकारी तथा विद्यार्थी अनुगमन प्रणालीलाई संस्थाले प्राथमिकतामा राखेको जनाएको छ ।
अल्फा विटाले विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भिसा परामर्श, प्रि–डिपार्चर तयारी, भाषा तयारी कक्षा तथा करियर मार्गदर्शनसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय डिजिटल लर्निङ, करियर काउन्सेलिङ र अन्तर्राष्ट्रिय शैक्षिक नेटवर्क विस्तारलाई संस्थाले रणनीतिक प्राथमिकतामा राखेको सञ्चालक भुर्तेलले बताए ।
बिर्तामोडस्थित मेघा कम्प्लेक्समा आयोजित उद्घाटन कार्यक्रम शैक्षिक परामर्श क्षेत्रमा प्रविधिमुखी रूपान्तरणको संकेतका रूपमा हेरिएको सहभागीहरूको प्रतिक्रिया थियो । आधुनिक शिक्षाको विश्वव्यापी प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई सक्षम बनाउने उद्देश्यसहित संस्था अगाडि बढिरहेको आयोजकले जनाएको छ ।,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here