ढोरपाटन (बागलुङ),

ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो ।
हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो ।
चालु आर्थिक वर्षमा विनियोजन गरेको रु नौ लाख ५० हजारको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । साँघुको सहतमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ ।
उहाँले भन्नुभयो, “पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधन भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।”
ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्नेगरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षात्मा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकीपाटन र जलजला जाने पर्यटकले घण्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।































