पेरिस,

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ भने इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ । घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ ।
शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न स्थानका रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले २०० लडाकू जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थानहरू र मिसाइल लन्चरहरू मुख्य निशानामा परेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप हजारौँ लक्ष्यमा कारबाही जारी रहने चेतावनी दिनुभएको छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म भारी र सटीक बमबारी जारी रहने बताउनुभएको छ । उहाँले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गर्नुभएको थियो । त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले कालो ब्यानरसहित अभिलेख दृश्य प्रसारण गर्दै खामेनीको निधन पुष्टि गरेको हो । खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ ।
इरानी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको जनाएका छन् । देशको न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा ‘शहीद’ भएको पुष्टि गरेको छ । खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने सरकारी टेलिभिजनले जनाएको छ । दिवङ्गत शाहका छोरा रेजा पहलवीले घटनालाई इस्लामिक गणतन्त्रको अन्त्यतर्फको कदमका रूपमा टिप्पणी गर्नुभएको छ ।
तेहरानमा आइतबार पनि शक्तिशाली विस्फोटका आवाज सुनिएका एएफपीका संवाददाताहरूले बताएका छन्, यद्यपि स्रोत स्पष्ट हुन सकेको छैन । इरानको न्यायपालिकाले मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको जनाएको छ, तर एएफपीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।
अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरमा इरानको रिभोलुसनरी गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर सुरु गरेको छ । शनिबार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरिएको दाबी गरिएको छ । इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन् । देशभर खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।
खामेनीको मृत्युपछि गार्ड्सले ‘इतिहासकै सबैभन्दा हिंसक’ अपरेसन सुरु गर्ने चेतावनी दिएको छ । खाडी क्षेत्रभर विस्फोटका घटनाहरू रिपोर्ट भएका छन् । संयुक्त अरब इमिरेट्सले अबु धाबीमा एक पाकिस्तानी नागरिकसहित दुई जनाको मृत्यु भएको जनाएको छ भने आफ्नो भूभागमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरिएको दाबी गरेको छ । दुबईमा विस्फोटको आवाज र ‘द पाम’ क्षेत्रमा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चार जना घाइते भएका छन् ।
रियाद, मनामा र दोहामा पनि ठूलो विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताहरूले जनाएका छन् । कतारले आफूविरुद्ध प्रहार गरिएका थुप्रै क्षेप्यास्त्र रोकेको दाबी गरेको छ । इराकस्थित कातेब हिजबुल्लाह समूह आबद्ध सैन्य अड्डामा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र उक्त समूहले अमेरिकाविरुद्ध जवाफ दिने चेतावनी दिएको छ । इरानले रणनीतिक होर्मुज जलडमरूमध्य बन्द गर्न कदम चालेको घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ ।
विकासक्रमले अन्तर्राष्ट्रिय समुदायलाई पनि गम्भीर चिन्तामा पारेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । इरानका प्रतिनिधिले अमेरिका र इजरायलमाथि सर्वसाधारणमाथि आक्रमण गरी सम्भावित युद्ध अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य कारबाहीले नियन्त्रणबाहिर जाने घटनाक्रम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
तेहरान–वासिङ्टन वार्तामा मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्रीले हिंसाबाट निराश भएको प्रतिक्रिया दिनुभएको छ । युरोपेली सङ्घ (इयु) ले परिस्थितिलाई ‘खतरनाक’ भनेको छ । खाडी राष्ट्रहरूले संयुक्त वक्तव्यमार्फत इरानको आक्रमणको निन्दा गरेका छन् भने रुसले अमेरिका–इजरायल कारबाहीलाई ‘खतरनाक साहसिक कार्य’ भन्दै क्षेत्रीय विनाश निम्त्याउन सक्ने टिप्पणी गरेको छ । लेबनानको हिजबुल्लाह समूहले क्षेत्रीय राष्ट्र र जनतालाई अमेरिका र इजरायलविरुद्ध उभिन आह्वान गरेको छ ।
यसबीच इरान, इराक, कुवेत, सिरिया, संयुक्त अरब इमिरेट्स र इजरायलले नागरिक उडानका लागि आकाश आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । धेरै अन्तर्राष्ट्रिय विमान सेवाहरूले मध्यपूर्वका उडान स्थगित गरेका छन् । रुसले पनि इरान र इजरायलतर्फका व्यावसायिक उडान अर्को सूचना नआउन्जेल रद्द गरेको जनाएको छ ।
तेहरानबाट सुरु भएको यो द्वन्द्वले अब खाडी क्षेत्र र विश्व शक्तिहरूलाई प्रत्यक्ष रूपमा तान्दै व्यापक क्षेत्रीय सङ्घर्षको सम्भावना बलियो बनाएको छ ।































