फागुन १९ खण्डग्रास चन्द्रग्रहण

0
3

ब्रम्हाण्डमा ग्रहहरु घुमिरहन्छन् । ग्रहहरु र सम्पूर्ण सौर्यमण्डलकै राजा सूर्य हुन् । ग्रहहरु निरन्तर आप्mनो चालमा चलिरहने भएकाले कहिले सूर्यको नजिक वा टाढा रहेर वा सूर्यका वा चन्द्रमाका नजिकमा वा दूरीमा विभिन्न ग्रहहरुको चाल र आगमनको प्रभाव सम्पूर्ण प्राणी लगायत भूगोलमा पनि पर्दछ । त्यस्तै ग्रहणको प्रभाव पनि राज्यमा र व्यक्तिमा पर्दछ ।
शास्त्रमा भनिएको छ–

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्तिच ।
ग्रहैव्र्याप्तमिदं सर्व त्रैलोक्य सचराचरम् ।।

भावार्थ :

ग्रहहरुले नै राज्य (सुख–सुविधा र सत्ता) प्रदान गर्दछन् र ग्रहहरुले नै राज्य खोसेर पनि जान्छन् । यो समस्त चराचर (सजीव र निर्जीव) तीनै लोक ग्रहहरुद्वारा नै व्याप्छ छ ।

व्याख्या

यस श्लोकले ज्योतिष शास्त्रमा ग्रहहरुको प्रभाव र शक्तिलाई दर्शाउँछ । मानिसको जीवनमा आउने सफलता, ऐश्वर्य र सुख वा असफलता र कष्ट सबै ग्रहहरुको दशा र गोचरमा निर्भर रहने विश्वास गरिन्छ । संसारका हरेक वस्तु र घटनामा ग्रहहरुको सूक्ष्म प्रभाव रहने कुरा यसले स्पष्ट पार्दछ ।

भाद्र २२ गतेको खग्रास चन्द्र ग्रहणको प्रभाव

वि.सं. २०८२ साल भाद्र २२ गते खग्रास चन्द्र ग्रहण रहेको थियो । यस वर्ष नेपालको सम्वतमा चन्द्रमा मन्त्री थिए, उनै चन्द्रमालाई खग्रासले ग्रस्त बनाएको थियो । २३ र २४ गतेमै देश मन्त्रीविहीन बन्यो । अभिभावकविहीन बन्यो । राज्यको गौरव र र इतिहासको रुपमा सदियौँदेखि हाम्रो छाती चौडा र शिर उच्च बनाएर निरन्तर उभिइरहेका संरचनाहरु दुई दिनभित्रमा दनदनी बले र खरानी भए । निर्दोष बालबालिकाहरुको संहार भयो । सेना र प्रहरीहरु माथि निर्घात कुटपिट भयो, हतियारहरु लुटिए, कैदीहरु जेलतोडेर भागे ।

फागुन १९ गतेको चन्द्र ग्रहणको सम्भावित प्रभाव

अब फेरि फागुन १९ गते अर्को खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो ग्रहण पनि नेपालको राजनीतिक वृत्त, सरकार वा मन्त्रीमण्डलको ठूलो हलचलको कारक बन्न सक्ने सम्भावना छ । चन्द्र ग्रहण लाग्नु भनेको मन्त्रीमा ग्रहण लाग्नु हो । यसको अर्थ निर्वाचनपछि नयाँ सरकार बन्नुभन्दा अघि नै बहालवाला प्रधानमन्त्रीलाई पद छोड्ने तीव्र दवाव आउने संकेत हुन सक्छन् । निर्वाचन स्थलहरु पनि तनावयुक्त रहलान । निर्वाचन पश्चात पनि मतगणना केन्द्रहरुमा झैं–झगडा र विवादको स्थिति देखिने सम्भावना छ । कतिपय स्थानहरुमा पुनः मतदान गर्नुपर्ने अवस्था सृजना हुने संकेत देखिएको छ ।

एकपटक देश फेरि अभिभावकविहीनताको चपेटामा अस्तव्यस्त हुने सम्भावनाको संकेत फागुन १९ को चन्द्र ग्रहणले गरेको छ । यस समयमा सूर्य–मंगल–बुध र राहु एउटै राशी मण्डलमा जम्मा भएका छन् । यो ४५ दिनभित्रको अवधिमा आगजनी, विष्फोट, भूकम्प, झैं–झगडा, विवाद आदिको भय रहने देखिन्छ । सुरक्षा संयन्त्रहरु कमजोर देखिन्छ । तर सैन्य शक्ति न्यायीक प्रणाली सबल भएर जाने अवस्था देखिन्छ र यिनैका प्रभावले नै यी सारा समस्या र अस्तव्यस्तताहरुका बीचमा नयाँ शिराबाट सबै परिस्थितिहरु सम्हालेर जाने नेतृत्व शक्तिको उदय हुने संकेत गरेको छ ।

ग्रहण फलका बारेमा यसप्रकार बताइएको छ–
निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्माप्नुयात् ।
पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठिर्भोजने स्यादधोगतिः
बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।

भावार्थः

ग्रहणका समयमा सुत्नाले रोग लाग्दछ, पिसाब फेर्नाले दरिद्रता बढाउँछ । शौच गर्नाले अर्को जन्ममा किराको योनीमा जन्म हुन्छ र मैथुन गर्नाले गाउँको सुँगुर भई जन्मिनु पर्छ । शरीरमा तेल लगाउनाले कुष्ठरोग लाग्दछ, भोजन गर्नाले अद्योगति हुन्छ, कसैलाई बन्धनमा राख्नाले सर्पको योनी प्राप्त हुन्छ र कसैको हत्या वा हिंसा गर्नाले नर्कमा परिन्छ ।

यस बाहेक ग्रहणका समयमा कुनै उत्सव नगर्नु, नयाँ कार्यहरुको शुरुवात नगर्नु, उद्घाटनका कामहरु नगर्नु भनिएको छ । चन्द्रमाको सुतककाल नौ घण्टासम्म लाग्छ भनिएको छ । सकेसम्म नौ घण्टा नै बार्नु निकै नै फलदायी हुन्छ, तथापि गृहस्थी जीवनमा कामकाज, व्यापार, व्यवसाय लगायत सबैको दैनिकी व्यस्त हुने हुँदा नौ घण्टासम्म नै बार्न सम्भव नभए पनि फागुन १९ गतेको ग्रहणका दिन साँझ ६ बजेदेखि ८ बजेसम्म उक्त कुराहरु विशेष रुपले बार्नु श्रेयस्कर हुन्छ ।

ग्रहणका समयमा के–के गर्ने ?

– यस दिन माछामासु र मादकपदार्थहरु सेवन नगर्ने, सुतक शुरु हुनु अगावै सात्विक भोजन गरिसक्ने ।
– घ्यु, दूध, दही आदिमा कुशको टुक्रा वा तुलसी पत्र राखिदिने र अन्य ठोस खानेकुराहरु सबैलाई राम्रोसँग छोपेर वा ढाकेर राख्ने ।
– तेल, नुन आदि पैँचो ल्याएको वा सापटी रकम कसैसँग लिएको भए ग्रहण अघि नै तिरिसक्ने ।
– घरभित्र मन्दिर वा देवीदेवताका प्रतिमाहरुलाई ग्रहण अवधिभर कपडाले छोपिदिने र ग्रहणपश्चात स्नानवा सफा सुग्घर गर्ने ।
– सुत्केरी महिलाहरु बाहिर ननिस्किने
– चन्द्रमालाई नहेर्ने
– ग्रहण स्नानपश्चात दान गर्ने ।
– चन्द्र गहण लागेका दिन सम्भव भएसम्म कुनै पवित्र जलाशयमा गई ॐ सोम सोमायनमः मन्त्र सिद्ध गर्ने । चन्द्रमा शिवजीको शीरमा विराजमान छन्, त्यसैले शिवजीको मन्त्र जाप गर्ने । यस समयमा नदी किनारमा एक चित्त भई गरेको मन्त्र जाप वा उच्चारणले छिट्टै नै सोचेको फल दिने विश्वास गरिन्छ ।

– कुनै गुरु ज्यातिषीहरुले तपाईको राशी वा कुण्डली अनुसार बीज मन्त्रहरुको जप गर्न दिनुभएको छ भने यो समय अति उत्तम समय सावित हुनेछ । तपाईले सम्पूर्ण जप संख्या यसै समयमा पूरा गर्न सक्नुहुनेछ ।

– अन्य स्तोत्रहरु जस्तैः हनुमान चालिसा, महामृत्युञ्जय मन्त्र आदि श्लोकहरु इसै समयमा १०८ पटक जप गरी लाभलिन सक्नुहुनेछ ।
– ग्रहणपश्चात घरलाई लिपपोत वा सरसफाई गरी चोख्याउने ।

पूर्णिमाको व्रत राख्ने गर्नुभएको छ ? के गर्ने त ?

कसै–कसैको पूर्णिमाको व्रत पनि परेको हुन सक्छ । अब १९ गते ग्रहण लागेको दिनको पूर्णिमाको व्रत चाहिँ के गर्ने त भन्ने जिज्ञासा हुन सक्छ । व्रत यसै पनि उपवास हो र ग्रहणका समयमा भोजन वर्जित हुन्छ । यस समयमा भगवानको मूर्तिहरु छुनु र पूजा गर्नुहुँदैन, तर सुतककाल अघि पूजा गर्न सकिन्छ । तपाई जलाहार वा फलाहार व्रत राख्नुहुन्छ भने सुतकअघि नै स्नाननादी गरी पूजा गर्ने र फलाहार गरिसक्ने ।

ग्रहण अवधिभर मानसिक जप गर्न सकिन्छ । मनमनै भगवानको स्मरण, ध्यान, जप गर्न सकिन्छ । कार्यसिद्धी मन्त्रहरु उच्चारण गर्न सकिन्छ । ग्रहण पूर्ण रुपमा समाप्त भएपछि स्नान गर्ने, भगवानका स्थान वा पूजाकोठाहरु सरसफाई गर्ने, घर सफा गर्ने र दानगर्ने काम सक्ने तत्पश्चातव्रतको पारण गर्ने (भोजन गर्ने)। यसरी हेर्दा तपाईको पूर्णिमाको व्रत छ भने बिहान ९ः०० बजेभित्रमा पूजा गरिसक्नु पर्दछ र साँझ ८ बजे व्रत खोल्न सक्नुहुनेछ ।

कुन–कुन राशीलाई कस्तो ग्रहणफल छ त ?

मेषः चिन्ता, वृषः व्यथा, मिथुनः श्रीप्राप्ति, कर्कटः क्षति, सिंहः घात, कन्याः व्यय, तुलाः लाभ, वृश्चिकः सुखम्, धनुः माननाश, मकरः कष्टम, कुम्भः जीवनसाथीलाई पीडा, मीनः सौख्यम् । ग्रहण एक खगोलीय घटना हो । ग्रहणका सम्बन्धमा सामाजिक सञ्जालहरुमा देखिने जस्तो डर र भयको पछि नलाग्नुहोस् । ग्रहहरु घुमिरहन्छन् । व्यक्तिका जीवनमा परिवर्तनहरु आइरहन्छन् । यदि हामी सच्चा मनले सत्कर्म गर्छौँ भने भाग्य बद्लिन भगवान स्वयम् बाध्य हुनेछन् ।

नक्षत्राणी ग्रहाश्चैवशुभाशुभनिवेदका ।
मानवनां महाभागे न तु कर्म करा स्वयम् ।।

माता पार्वती शिवजीसँग भन्नुहुन्छ– हे भगवान ! मानिसहरु आप्mनो भाग्य र कर्मका लागि ग्रह नक्षत्रहरुको पूजा गर्दछन्, के मानिसको भाग्य वा कर्म ग्रह नक्षत्रहरुले नै गरेका हुन्छन् ?
शिवजी भन्नुहुन्छ– हे देवी ! ग्रह र नक्षत्रहरु मानिसलाई फल वा कर्म दिने होइनन्, तिनीहरु त केबल संकेत मात्र दिने हुन् र मानव स्वयम्ले कर्म गरे मात्र भाग्य उदय हुन्छ ।
ग्रहणको मिति : वि.सं. २०८२ साल फागुन १९ गते मंगलबार

(इ.सं. २०२६ मार्च ३)
समय : साँझ ६ः३० बजेदेखि
समाप्त : ७ः२ बजेसम्म
सुतक कालः १९ गते मंगलबार बिहान ९ः३ बजेदेखि शुरु
नक्षत्र : पूर्व फाल्गुनी
राशी : सिंह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here