झापा, प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) झापा क्षेत्र नम्बर–२ का उम्मेदवार देवराज घिमिरेले निर्वाचनलाई राष्ट्रको भविष्य निर्धारण गर्ने अवसरका रूपमा लिन मतदातासँग आग्रह गरेका छन्।
पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै देश बाह्य तथा आन्तरिक हस्तक्षेपको चुनौतीबाट गुज्रिरहेको बताए। यस्तो अवस्थामा राष्ट्रियता र स्थिरताको पक्षमा दृढ अडान लिएको एमाले नेतृत्वलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
घिमिरेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियान पूरा गर्न स्पष्ट मार्गचित्र र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै एमाले नै त्यसका लागि सक्षम शक्ति भएको दाबी गरे। राजनीति पुरानो र नयाँ भनेर विभाजन गर्ने प्रवृत्ति गलत भएको बताउँदै उनले समयअनुकूल परिवर्तन र विकासको नेतृत्व एमालेले गर्दै आएको उल्लेख गरे।
उनले एमाले नेतृत्वका सरकारले सामाजिक सुरक्षा कार्यक्रमदेखि पूर्वाधार विकास, डिजिटल प्रविधिको विस्तार र दीर्घकालीन योजनामा महत्वपूर्ण काम गरेको दाबी गरे। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैचारिक र राजनीतिक घेराबन्दी भइरहेको उल्लेख गर्दै राष्ट्रको सार्वभौमसत्ता जोगाउन एमालेको विजय आवश्यक रहेको उनले बताए।
निर्वाचन प्रचारका क्रममा आफू क्षेत्रका सबै वडामा पुगेको जानकारी दिँदै घिमिरेले जनतामा एमालेप्रति विश्वास अझै बलियो रहेको बताए। विगतका केही घटनाका कारण मतदातामा डर र संकोच देखिए पनि निर्वाचन लोकतान्त्रिक प्रक्रियामार्फत देश निर्माण गर्ने अवसर भएको उनको भनाइ थियो।
आफू लामो राजनीतिक जीवनभर व्यक्तिगत लाभभन्दा देश र क्षेत्रको विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले अधुरा विकास योजना पूरा गर्ने प्रतिबद्धता जनाए। क्षेत्रका सडक पूर्वाधार विस्तार, बिर्तामोड बजारको ढल व्यवस्थापन, आधुनिक कृषि विकास, सुपारी तथा दुग्ध उत्पादनलाई व्यवस्थित उद्योगका रूपमा विस्तार गर्ने योजना उनले प्रस्तुत गरे।
त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको समग्र विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए। सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने, स्थानीय पूर्वाधार निर्माण तथा नदी नियन्त्रण योजनालाई पूर्णता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
मतदातासँग निरन्तर संवाद गर्दै सुझावलाई मार्गदर्शनका रूपमा लिने बताउँदै घिमिरेले आगामी फागुन २१ गते हुने मतदानमा प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन्।




























