झापा, निर्वाचन आचारसंहिता विपरीत मदिरा बिक्री–वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार राति बिर्तामोड नगरपालिका–१० स्थित चन्द्रदक्ष रेष्टुरेन्टमा आचारसंहिता उल्लंघन गर्दै मदिरा बिक्री भइरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा खटिएको टोलीले रेष्टुरेन्टका ५१ वर्षीय कर्मचारी यामबहादुर राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि कार्यालयमै राखिएको छ ।
यता बिर्तामोड–५ स्थित ग्लोबल आइएमई बैंक नजिकै एक घरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार राति १०ः३० बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी निरीक्षक प्रदर्शन राईको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले ४४ वर्षीय पुरुषोत्तम सुवेदीको घरमा छापा मारेको थियो ।
प्रहरीले अमरबहादुर तामाङ, पुरुषोत्तम सुवेदी, युवराज प्रसाद साह र भारत, पश्चिम बंगाल उत्तर दिनाजपुरका विपुल रोयलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलबाट एक बुङ तास र नगद १८ हजार ५३५ रुपैयाँ बरामद गरिएको जनाएको छ ।
होलीमा उच्छृंखल गतिविधि, ३५ जना नियन्त्रणमा
होली पर्व मनाउने क्रममा निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन, मादक पदार्थ सेवन गरी उच्छृंखल गतिविधि र समूहमा भेला भई होहल्ला गरेको आरोपमा इलाका प्रहरी कार्यालय दमकले ३५ जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान १० बजेदेखि रातिसम्म दमक नगरपालिकाका विभिन्न स्थानबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सो क्रममा मोडिफाइडसहित तीन जना सवार २४ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये २५ जनालाई सामान्य सम्झाइ–बुझाइपछि छाडिएको छ भने पाँच जना अझै अनुसन्धानकै क्रममा छन्। साथै, राति १०ः३० बजे पुनः दमकका विभिन्न स्थानबाट ११ जनालाई सोही कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको इप्रका दमकले जनाएको छ ।
प्रहरीले मौन अवधिमा शान्ति सुरक्षा कायम राख्न कडाइ गरिएको र आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।





























