झापा, प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पुराना राजनीतिक दलका केही प्रभावशाली नेता आफ्नै निर्वाचन क्षेत्रमा दबाबमा परेका छन् । प्रारम्भिक मतपरिणामले लामो समयदेखि राजनीति गर्दै आएका स्थापित नेताहरूलाई यसपटक नयाँ दल र स्वतन्त्र धारका उम्मेदवारहरूले कडा चुनौती दिएको संकेत गरेको छ ।
मतगणनाको प्रारम्भिक चरणबाटै कतिपय चर्चित नेताहरू मतान्तरमा पछि परेपछि उनीहरूका निर्वाचन क्षेत्रलाई विश्लेषकहरूले ‘रेड जोन’को रूपमा चित्रित गर्न थालेका छन् । नयाँ राजनीतिक शक्तिको उदयसँगै परम्परागत दलका शीर्ष नेताहरूलाई चुनाव जित्न सहज नभएको देखिएको हो ।
सबैभन्दा बढी चर्चा झापा क्षेत्र नम्बर ५ को प्रतिस्पर्धाले पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो परम्परागत क्षेत्रबाट चुनावी मैदानमा छन् । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहसँग कडा प्रतिस्पर्धामा छन् । प्रारम्भिक मतगणनामा शाहले उल्लेख्य अग्रता बनाउँदै गएपछि ओलीका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।
२०४८ सालपछि भएका अधिकांश निर्वाचनमा उक्त क्षेत्रबाट विजयी हुँदै आएका ओलीले २०६५ सालको संविधानसभा निर्वाचनमा मात्र पराजय भोगेका थिए । त्यसयता यो क्षेत्र उनलाई सुरक्षित मानिँदै आएको थियो । तर यसपटक नयाँ शक्तिको चुनौतीका कारण परिस्थिति फेरिएको देखिएको छ । करिब १८ हजार मत गणना हुँदा ओली शाहभन्दा १० हजारभन्दा बढी मतले पछि परेको विवरण सार्वजनिक भएको छ ।
यसैगरी रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि कठिन अवस्थामा देखिएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले स्पष्ट अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार खरेलले १८ हजार ५३९ मत प्राप्त गर्दा पौडेलले ३ हजार ९९६ मत मात्र पाएका छन् । यस आधारमा पौडेल करिब १४ हजार मतले पछि परेका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा पनि एमालेका सचिव महेश बस्नेतलाई चुनौती देखिएको छ । एमालेको बलियो प्रभाव रहेको मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले दोब्बरभन्दा बढी मतान्तरले अग्रता कायम गरेको विवरण सार्वजनिक भएको छ ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहभन्दा पछि परेका छन् ।
२०७९ सालको निर्वाचनभन्दा करिब छ महिनाअघि मात्रै पत्रकार रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै चुनावी मैदानमा प्रभाव देखाएको विश्लेषण गरिएको छ । यस दलबाट उम्मेदवार बनेका धेरैजसो कम परिचित अनुहारहरूले ठूला दलका ‘हेभिवेट’ नेताहरूलाई समेत दबाबमा पारेका छन् ।
झापाकै क्षेत्र नम्बर २ मा एमालेका पूर्वसभामुख देवराज घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानाले उल्लेख्य मतान्तरले पछि पारेकी छन् । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले चुनौती दिएका छन् ।
झापा क्षेत्र नम्बर ४ मा कांग्रेसका देउमान थेबे र एमालेका एलपी सावा जस्ता नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले कडा प्रतिस्पर्धामा राखेका छन् ।
पूर्वी नेपालका अन्य जिल्लामा पनि नयाँ दलको प्रभाव देखिएको छ । मोरङका विभिन्न क्षेत्रमा कांग्रेस र एमालेका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धामा पछि परेको विवरण सार्वजनिक भइरहेको छ । मोरङ–२ मा कृष्ण कार्की, ३ मा गणेश कार्की, ४ मा सन्तोष राजवंशी, ५ मा आशा झा तथा मोरङ–६ मा रुबिना आचार्यले उल्लेख्य प्रतिस्पर्धा देखाएका छन् ।
सुनसरीमा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । सुनसरी–१ मा धरानका पूर्वप्रमुख हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले पछि पारेकी छन् । सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले चुनौती दिएका छन् भने सुनसरी–२ मा कांग्रेसका राजीव कोइरालाभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा अघि रहेका छन् ।
उता, श्रम संस्कृति पार्टीले पनि केही स्थानमा अप्रत्याशित परिणाम देखाएको छ । इलाम क्षेत्र नम्बर २ मा एमालेका युवा नेता सुहाङ नेम्वाङलाई उक्त दलका उम्मेदवारले पछि पारेका छन् । भोजपुरमा एमालेका सचिव शेरधन राई र अन्य प्रतिस्पर्धीलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले प्रारम्भिक मतगणनामा पछि पारेका छन् ।
त्यसैगरी धनकुटामा एमालेका पूर्वमन्त्री राजेन्द्र राईलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले चुनौती दिएका छन् ।
प्रारम्भिक मतपरिणामले परम्परागत राजनीतिक दलको बलियो मानिएका क्षेत्रमा समेत नयाँ दलको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन् । यसले नेपाली राजनीतिमा मतदाताको धारणा परिवर्तन हुँदै गएको संकेत गरेको उनीहरूको भनाइ छ ।*



























