बिर्तामोड ।

विश्वभर विभिन्न मुलुकमा रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको नेपाल समन्वय समिति गठन भएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाँई र उपाध्यक्ष चुडामणि कार्कीसहितको उपस्थितिमा झापाको बिर्तामोडमा सम्पन्न एक भेलाले समाजको नेपाल समन्वय समिति बनाएको हो ।
समन्वय समितिको संयोजकमा दमकका राजु थापा चयन भएका छन् । सहसंयोजकमा कृष्णप्रसाद चापागाँई र सचिवमा बिर्तामोडका सुदर्शन रोका सर्वसम्मत चयन भएका छन् । समितिका सदस्यहरु भने पछि थप गरिने बताइएको छ ।
झापाका हरेक स्थानीय तहबाट कम्तीमा दुई जनाको प्रतिनिधित्व हुने गरी समितिमा सदस्य थप गरिने बताइएको छ । समाजका अध्यक्ष चम्लागाँईले नेपाल समन्वय समिति बनेपछि समाजका योजना कार्यान्वयनमा सहज हुने बताएका छन् । उनले समाजको विधान बमोजिम समिति बनाइएको बताए । समाजका उपाध्यक्ष कार्कीले विगतदेखि हालसम्म समाजले गरिरहेको कामको बारेमा बताउँदै भेलाको औचित्य बारे प्रष्ट्याएका थिए ।

उक्त भेलामा झापा घर भई विभिन्न मुलुकमा शिक्षा, व्यवसाय तथा रोजगारीको सिलसिलामा रहेका र स्वदेश फर्किएकाहरुको सहभागिता थियो । भेलामा गुरुभक्त काफ्ले, फूलकुमार धमला, मनोज बस्नेत, विजयकुमार मगर, नेत्रप्रसाद प्रसाईं, पिताम्बर निरौला, विष्णु बन्जरा, गोविन्द घिमिरे, रोशन बस्नेत, लोक थापा, मनोज बुढाथोकी, युवराज चापागाँई लगायतको सहभागिता थियो ।
भेलामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाको विकास, विपद्मा सहयोग, मानवीय सेवा लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय झापाली समाजले पुर्याउदै आएको योगदानको प्रशंसा गर्दै नवगठित समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरे ।































