नारी सामथ्र्यको सम्मान

0
11

अंग्रेजी सम्वत् अनुसार आज सन् २०२६ को मार्च महिनाको ८ तारिख । यस दिनलाई विश्वभर नारी दिवसका रुपमा महिला सशक्तिकरण, समानता र सम्मानका कार्यक्रमका साथ दिवस मनाउने गरिएको छ । वैदिक सनातन धर्मका अनुयायी भएका कारण नेपालमा नारी जातिलाई उच्च सम्मान गर्ने परम्परा नै छ । आचार्य मनुद्वारा रचित मनुस्मृतिमा नारीलाई सम्मान गर्नुपर्ने विचार व्यक्त भएको छ । मनुस्मृतिमै भनिएको छ– जहाँ नारीको पूजा अर्थात् सम्मान हुन्छ, त्यही ईश्वर खुशी भएर बस्नेछन् । त्यही आदर्शबाट अनुप्राणित नेपाली संस्कृतिमा नारीलाई विद्या, धन र सामथ्र्यको देवीका रुपमा चित्रण गरिएको छ । पूर्वीय दर्शनको आदर्श अनुरुप नारीलाई धरणी, धर्ती र माताको रुपमा स्वीकार गरिएको छ ।

नारी शक्तिको विशिष्टताको सम्मान गर्दै फ्रान्स क्रान्तिका नायक तथा राजनीतिक नेता नेपोलियन बोनापार्टले भनेका थिए– तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिन्छु । यो भनाइले पश्चिमा समाजमा पनि आमा अर्थात् नारी शक्तिप्रति उच्च सम्मान गरिन्थ्यो भन्ने बुझिन्छ । आज त्यही मातृशक्तिको सामथ्र्य र विशिष्टताको स्मरण गर्दै नारी जातिको महवका बारेमा चेतना विस्तार गर्ने दिन हो । यद्यपि हाम्रो समाजमा सीता, भृकुटी, राजेन्द्रलक्ष्मी देवी जस्ता आदर्श र वीराङ्गनाहरुको कथा पढिन्छ, पढाइन्छ र योगमाया जस्ता महान नारीहरुको समाज रुपान्तरणमा भएका योगदानको गायन गरिन्छ । तर पनि नारीलाई हेर्ने दृष्टिकोण संकीर्ण रहेको दिनहुँ सार्वजनिक हुने गरेका हिंसा, विभेद र दुव्र्यवहारका घटनाहरुले देखाउँछ ।

विश्व नारी दिवसकै दिन नेपालीले सम्झिनुपर्ने एउटा नौलो इतिहास पनि दृष्टान्तका रुपमा त उभिएको छ । न्याय सेवा क्षेत्रको नेतृत्व गरेकी सुशीला कार्की जेन–जी विद्रोहले उत्पन्न गरेको संकटको घडीलाई विधिको बाटोमा अवतरण गराउन सफल भएकी छन् । पहिलो महिला प्रधानमन्त्रीको इतिहासको रचना गरेकी कार्कीले वैधानिक ढंगले प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर तत्कालीन सरकारका कारण उत्पन्न जटिल परिस्थितिलाई विधिको परिधिबाट जननिर्वाचित सरकार बनाउने मार्गप्रशस्त गरेकी छिन् । अनिश्चित र अन्योलपूर्ण अवस्थामा रहेको समयमा सरकारको नेतृत्व लिएकी कार्कीले आफ्नो कार्यादेश ऐतिहासिक रुपमा सफल पारिन् । अनेक आशंका र अनिश्चितताका बीच देशभर एकैदिन शान्तिपूर्वक निर्वाचन सम्पन्न गर्ने उनको साहसलाई सबैले सम्मान गर्नैपर्छ । विश्व नारी दिवसका अवसरमा नेपाली नारीको संयमित, शान्त र परिणाममुखी नेतृत्व र भूमिकाका प्रति विशेष सलाम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here