झापा, ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर महिलाको नेतृत्व क्षमता र व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यसहित बिर्तामोडमा नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ।
“भावी नेतृत्व र व्यक्तित्व विकास” विषयक उक्त तालिम वीरता जेसीजको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष, नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष, नारी सञ्चार गृह झापाकी अध्यक्ष तथा सञ्चारकर्मी स्वस्तिका आचार्यले सहजीकरण गर्नुभएको थियो।
तालिमका क्रममा आचार्यले प्रभावकारी नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच तथा प्रभावकारी सञ्चार सीपका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले महिलाले आफ्नो क्षमता र सम्भावनालाई पहिचान गर्दै समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा नेवा मिसा पुच, माडवारी महिला मञ्च, नेवास् मिसा दबु , महिला उद्यमी समूह तथा श्री छठ महिला मञ्चका गरी २५ भन्दा बढी महिलाको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट नेतृत्व विकास र आत्मविश्वास बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, नेको इन्स्योरेन्स बिर्तामोड शाखा प्रबन्धक सुमन पोद्दार तथा झापा गोल्ड कपका सदस्य सुशील थापालगायतको आतिथ्यता रहेको थियो।
अध्यक्ष श्रेष्ठले यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमले महिलालाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक जुनियर लुना ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने आस्थावाचन कोषाध्यक्ष अमरजित शाहले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुबास तिखत्रीले गर्नुभएको थियो ।






























