सुरेन्द्र भण्डारी
झापा, प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा ७८ जनाको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, देवराज घिमिरे, लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,नेपाली कांग्रेसका केशवराज पाण्डे, देउकुमार थेवे र श्रम संस्कृति पार्टीका केवलराम राईसहित सात जनाले मात्रै जमानत जोगाएका छन्। बाँकी उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मतसमेत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको हो ।
क्षेत्र नम्बर १ मा १२ जनाको जमानत जफत
झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी सर्वाधिक मतसहित विजयी हुँदा १२ जनाले १० प्रतिशत मतसमेत ल्याउन सकेनन् ।
मंगोल नेसनल अर्गनाइजेशनका सन्तोष तामाङले ९७१ मत (१.२४ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्कीले १ हजार ६१२ मत (२.०५ प्रतिशत) प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद साँवा लिम्बूले ८४ मत (०.१० प्रतिशत) मात्र पाएका छन् ।
नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत (९.७८ प्रतिशत) ल्याए पनि १० प्रतिशत मत नपुग्दा उनको जमानत जफत भएको छ । नेपाल मजदुर किसान पार्टीका हिरण्यप्रसाद भट्टराईले २३ मत (०.०२ प्रतिशत), स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेलले ३३ मत (०.०४ प्रतिशत), नेपाल जनमुक्ति पार्टीका खाद्रु करुवाले १७ मत (०.०२ प्रतिशत) प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अशेष घिमिरेले ९२२ मत (१.१७ प्रतिशत), उज्यालो नेपाल पार्टीका नरेशकुमार लावतीले ४८५ मत (०.६१ प्रतिशत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानवबहादुर साँवा लिम्बूले ९९ मत (०.१२ प्रतिशत), जनता समाजवादी पार्टी नेपालकी रमा मेचेले ४३ मत (०.०५ प्रतिशत) र नेपाल सद्भावना पार्टीका ओलेन राजवंशीले १०९ मत (०.१३ प्रतिशत) ल्याएपछि उनीहरूको जमानत जफत भएको हो ।
क्षेत्र नम्बर २ मा १६ जनाको जमानत जफत
झापा क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनका उपविजेता भद्रप्रसाद नेपालको समेत जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नेपालले ३ हजार ९६६ मत (४.३४ प्रतिशत) मात्रै प्राप्त गरे।
यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी चन्द्रकुमारी थारुले २० मत (०.०२ प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका अक्कलबहादुर तामाङले १४८ मत (०.१६ प्रतिशत) प्राप्त गरे। श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ मत (७.९८ प्रतिशत) पाए पनि जमानत जोगाउन सकेनन् ।
स्वतन्त्र उम्मेदवार डा. युवराज संग्रौलाले ३०५ मत (०.३३ प्रतिशत), नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाईँले १ हजार ११५ मत (१.२२ प्रतिशत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अमृता लावतीले ६० मत (०.०६ प्रतिशत), स्वतन्त्र उम्मेदवार पुण्यप्रसाद आचार्यले ५६ मत (०.०६ प्रतिशत) पाए।
नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईले ५ हजार ६१६ मत (६.१४ प्रतिशत) प्राप्त गरे पनि १० प्रतिशत मत नपुग्दा जमानत जफत भएको छ। प्रसाई र चापागाईँ पूर्वराज्यमन्त्री हुन्।
यसैगरी जनता समाजवादी पार्टीका तीलबहादुर राईले ९९ मत (०.१० प्रतिशत), नेकपा संयुक्तका श्रीप्रसाद सिटौला ६४ मत (०.०७ प्रतिशत), उज्यालो नेपाल पार्टीका चुर्णाकण वेघा ५६० मत (०.६१ प्रतिशत), नेकपा माओवादीका अर्जुनकुमार पाण्डे ९८ मत (०.१० प्रतिशत), स्वतन्त्र उम्मेदवार रमेशकुमार कार्की ६ मत, जनमत पार्टीका रमेशकुमार राजवंशी ३८० मत (०.४१ प्रतिशत) र नेपाल जनमुक्ति पार्टीका मानवबहादुर पुलामी मगरले ६१ मत (०.०६ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको हो।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार तथा पूर्वसभामुख देवराज घिमिरेले मात्रै जमानत जोगाएका छन्।
क्षेत्र नम्बर ३ मा १५ जनाको जमानत जफत
झापा क्षेत्र नम्बर ३ मा संविधानसभा सदस्य तथा नेकपा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ७ हजार ४९२ मत (९.०८ प्रतिशत) प्राप्त गरे पनि जमानत जोगाउन सकेनन्। नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८ हजार १९९ मत (९.९३ प्रतिशत) पाए पनि १० प्रतिशत नपुग्दा जमानत जफत भएको छ।
नेपाल मजदुर किसान पार्टीकी धर्मलक्ष्मी दुवालले १० मत (०.०१ प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका यामकुमार श्रेष्ठले ३८० मत (०.४६ प्रतिशत), श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ मत (८.८९ प्रतिशत) प्राप्त गरे ।
त्यस्तै जनमत पार्टीका हर्षलाल राजवंशीले ३५४ मत (०.४२ प्रतिशत), जनता समाजवादी पार्टीकी विनिता राजवंशीले १२६ मत (०.१५ प्रतिशत) र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १ हजार ४५० मत (१.७५ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबाहेक अन्य उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
क्षेत्र नम्बर ४ मा १३ जनाको जमानत जफत
झापा क्षेत्र नम्बर ४ मा १३ जनाको जमानत जफत भएको छ। यहाँ नेकपा एमालेका उम्मेदवार लालबहादुर साँवा लिम्बूले मात्रै जमानत जोगाउन सफल भएका छन्।
राप्रपाका पूर्वकोशी प्रदेशमन्त्री भक्ति प्रसाद सिटौलाले २ हजार ८० मत (२.६९ प्रतिशत) मात्रै प्राप्त गरे। उज्यालो नेपाल पार्टीका सन्तोष तामाङले ४३२ मत (०.५६ प्रतिशत), जनता समाजवादी पार्टी नेपालका पलटन ताजपुरियाले ५४ मत (०.०७ प्रतिशत) प्राप्त गरेका छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किरण लिम्बू लिङ्देनले १४१ मत (०.१८ प्रतिशत), नेकपा माओवादीका ताराबहादुर थापाले १२५ मत (०.१६ प्रतिशत), राष्ट्रिय मुक्ति पार्टी नेपालका त्रिनारायण राजवंशीले ९८ मत (०.१२ प्रतिशत) पाए।
श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ मत (९.२९ प्रतिशत) प्राप्त गरे पनि १० प्रतिशत मत नपुग्दा उनको पनि जमानत जफत भएको छ।
क्षेत्र नम्बर ५ मा पनि धेरै उम्मेदवारको जमानत जफत
झापा क्षेत्र नम्बर ५ मा पनि अधिकांश उम्मेदवारले १० प्रतिशत मत प्राप्त गर्न सकेनन्। पिपुल फस्ट पार्टीका धर्मराज गुरागाईंले ३४ मत (०.०३ प्रतिशत), राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १ हजार ५३६ मत (१.५० प्रतिशत), मंगोल नेसनल अर्गनाइजेशनका सानबहादुर मेचेले १६६ मत (०.१६ प्रतिशत) प्राप्त गरे।
नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चियरियाले १ हजार ८२१ मत (१.७७ प्रतिशत), नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १ हजार ४६१ मत (१.४२ प्रतिशत) पाएपछि उनीहरूको जमानत जफत भएको छ।
यसैगरी जनमत पार्टीका अमृतलाल महत्तोले २९६ मत (०.२८ प्रतिशत), राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइलीले ३५ मत (०.०३ प्रतिशत), स्वतन्त्र उम्मेदवार शोभा भण्डारीले ८२ मत (०.०८ प्रतिशत) र नेकपा माओवादीका सञ्जय राईले ७६ मत (०.०७ प्रतिशत) प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुनै निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।






























