पुराना र ठूला भनिएका राजनीतिक दलको दिशाहीनता र नेतृत्वको अकर्मण्यताको परिणाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छोटो समयमै आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गरेको छ । पुराना दलहरुले राजनीतिक उदयका लागि हिंसा वा विरोधका माध्यमबाट रोजेका थिए । तर, रास्वपाले देशमा विद्यमान बेथिति, विसंगति र भ्रष्टाचारका बिरुद्धको मानसिकता चेतना प्रवाहका माध्यमबाट सञ्चार गर्दै सुशासन र सदाचार आफ्नो अभिष्टलाई जन–जनसम्म पु¥याउन सफल भयो । शिक्षा, स्वास्थ्य, कृषि लगायतका आमजनताका साझा विषयलाई प्रमुखका साथ लिएर तिनको समृद्धिले मात्र देशको सम्पूर्ण उन्नति गर्न सकिन्छ भन्ने मान्यतालाई अंगिकार ग¥यो ।

स्पष्ट बहुमतको सरकार निर्माण गर्ने बाटोमा अग्रसर सम्पन्न निर्वाचनको परिणाम स्थिर सरकार र राजनीतिक स्थिरताको बाटोमा अग्रसर छ । यस्तो बेला प्रचण्ड जनमतका साथ अघि बढेको रास्वपाले दलगत स्वार्थ, संकीर्णता र विभेदको परम्परागत चरित्रलाई टाडा राख्नु पर्दछ । आफूद्वारा गरिएका प्रतिबद्धता, दिएका आश्वासन तथा देशको महाशत्रुका रुपमा रहेको भ्रष्टाचारको जरो पहिल्याएर विगतका भ्रष्टाचारका प्रकरणहरुको समेत अनुसन्धान गराइ सुशासनको बाटो अख्तियार गरेको विश्वास दिलाउन सक्नु पर्छ । नेपाली राजनीतिमा विद्यमान आफूलाई सर्वज्ञ ठान्ने मानसिकता, दम्भ र अहंकारको साटो विनम्रता, हार्दिकता, संयमीत र सदाचारलाई मूल मन्त्र बनाउनुपर्छ । सदाचारको एजेण्डालाई प्राथमिकता दिएर जनताका साझा अपेक्षाहरुलाई सम्बोधन गर्नुपर्छ ।
नवपुस्ताको भदौ २३ गतेको विद्रोहपछि उत्पन्न जटिल परिस्थितिमा भएको आमनिर्वाचनमा रास्वपाको पक्षमा देखिएको जनलहर र प्राप्त मत जनताको शान्त र अन्तरको चाहनाको प्रतिफल हो । त्यसको मर्मलाई आत्मसात गर्ने, ग्रहण तथा सुशासनको पक्षमा निरपेक्ष सेवा र समर्पण इतिहासले दिएको जिम्मेवारी हो । वर्षौंदेखि थाती रहेका आन्तरिक तथा बाह्य चुनौतीहरुको सामना गर्दै कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न रास्वपाले आफ्नो मूल ध्येय बनाउनुपर्छ । रास्वपाको यो ऐतिहासिक सफलता नेपाली राजनीतिको नवीन आयाम बन्नुपर्छ, देश र जनताको समृद्धिको आधार बन्नुपर्छ । त्यसका लागि उत्तेजना होइन संयम्, दम्भ होइन विनयशीलता, आवेग होइन संवेदनशील भई झण्डै चार दशकदेखिको असफलताको यात्रालाई सफलता, सुदृढ र समृद्धितर्फ उन्मुख गराउनुपर्छ । अन्यथा यो सफलता परम्परा जस्तै वर्षे बाठी हुनसक्छ ।



























