जनताको निर्णय स्वीकार्दै कांग्रेस सुधारको बाटोमा लाग्नुपर्छ : सभापति थापा

0
14

झापा, नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणामलाई नेपाली कांग्रेसले संयमित रूपमा स्वीकार गरेको बताएका छन्।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले दिएको निर्णयको पक्षमा नेपाली कांग्रेस उभिएको स्पष्ट पार्दै निर्वाचनको परिणाम जस्तोसुकै आए पनि लोकतान्त्रिक रूपमा स्वीकार गर्नुपर्ने बताए ।
कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका सभापति थापाले जनताले परिवर्तन चाहेको संकेत निर्वाचन परिणामबाट स्पष्ट भएको उल्लेख गर्दै त्यस परिवर्तनलाई सम्मान गर्दै आभार व्यक्त गर्नुपर्ने बताए। उनले भने, “जनताले परिवर्तन चाहेका रहेछन्, त्यो जनताले पाएका छन्। त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौं।”
उनका अनुसार अब नयाँ सरकार निर्माण हुने प्रक्रिया अघि बढिरहेको छ र त्यस सरकारले आगामी दिनमा के काम गर्छ भन्ने कुरा हेर्न बाँकी रहेको छ।
निर्वाचन परिणामपछि कांग्रेस कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै उनले पार्टीभित्र एकता कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसलाई पुनः जनताको पार्टी बनाउने दिशामा लाग्नुपर्ने उनको भनाइ थियो।

सभापति थापाले निर्वाचित उम्मेदवारहरूलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यासमा परिणामलाई शान्त र संयमित रूपमा स्वीकार गर्नुपर्ने बताए।
पार्टीका सभापति गगनकुमार थापाको राजीनामाको चर्चा चलिरहेको सन्दर्भमा उनले अहिलेको परिस्थितिमा सभापतिले पद त्याग्नु समाधान नभएको धारणा राखे। “यो विषम परिस्थितिमा सभापतिले राजीनामा दिएर पार्टीलाई विटुङ्गो बनाउने होइन, थप जिम्मेवारी र क्रियाशीलताका साथ काम गर्नुपर्छ,” उनले भने।
उनले अहिलेको आवश्यकता नेतृत्व परिवर्तन होइन, बरु पार्टीलाई थप मजबुत बनाउँदै अगाडि बढ्नु भएको बताए।
सभापति थापाले नेपाली कांग्रेसलाई सुधार (रिफर्म) गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै विशेष महाधिवेशनमार्फत पार्टीलाई परिवर्तन गर्ने भनिए पनि अपेक्षित सुधार हुन नसकेको स्वीकार गरे।
“अब बदलिने समय आएको छ। निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई बदल्ने बाटो खोलिदिएको छ। अब पार्टीलाई नयाँ ढंगले सुधार गरेर अघि बढ्नुपर्छ,” उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here