बिर्तामोड, झापाको अर्जुनधारा नगरपालिका–१ स्थित श्रीशङ्कराचार्यपीठ साधुटारमा तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । फागुन २८ देखि ३० गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भ पारेर पर्यटन, वन तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो । यसबारे मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव–२०८२ का संयोजक डा. गोपीकृष्ण खतिवडाका अनुसार महोत्सवमा भारतबाट २० जना र नेपालका विभिन्न जिल्लाबाट करिब ५० जना स्रष्टाहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. देवी नेपाल, प्रा.डा. नारायण गड्तौला, डा. कर्णेश्वर खतिवडा, डा. दीपकप्रसाद न्यौपाने, सह–प्राध्यापक महेश पौडेल र शिव रेग्मी प्रणत विषयविज्ञका रूपमा सहभागी हुने बताइएको छ ।
यसैगरी प्रसिद्ध भजन गायक जुनियर अनुप जलोटा, गजलकार समन स्मारिका, अनन्त प्रणुराग, रोहित पराजुली, राधा पाण्डे, छन्दकवि टीका आत्रेय, छवि वैरागी लगायतका स्रष्टाहरूको प्रस्तुति रहनेछ । मिस कस्मो २०८२ की विजेता दीशिक्षा नेपालको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमको मूल समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
श्रीशङ्कराचार्यपीठ साधुटारका संस्थापक लक्ष्मीप्रसाद खतिवडाले साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने, पूर्वीय दर्शन, वेद र उपनिषदमा आधारित साहित्यिक विमर्शमार्फत बौद्धिक पर्यटनको विकास गर्ने तथा नेपाल–भारतका विद्वान, सन्त, महन्त र साहित्यकारबीच वैचारिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवको पहिलो दिन फागुन २८ गते साँझ ६ देखि १० बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । दोस्रो दिन फागुन २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापाका विभिन्न गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई छन्द तथा गद्य कविता लेखन प्रशिक्षण दिइनेछ । सोही दिन साँझ ६ः३० देखि १० बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट भजन तथा गजल प्रस्तुति हुनेछ ।
फागुन ३० गते मूल समारोह सम्पन्न गरिनेछ । सो अवसरमा साहित्य र पर्यटनसम्बन्धी तीनवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ । कार्यक्रम अवधिभर पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी पनि गरिनेछ ।
महोत्सव अवधिभर बिहान ४ देखि ६ बजेसम्म त्रिदिवसीय योग शिविर सञ्चालन गरिनेछ भने आश्रममा दैनिक रूपमा हुने नित्य वैदिक कर्मको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्रवर्द्धन गर्नुका साथै साधुटार क्षेत्रलाई धार्मिक तथा साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






























