गौरादहका नगरप्रमुख सुवेदीमाथि हातपात, एमालेद्वारा निष्पक्ष छानबिनको माग

0
3

झापा , झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि निवासमै पुगेर हातपात भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको भोलिपल्ट फागुन २४ गते साँझ पार्टीका कोशी प्रदेश सल्लाहकारसमेत रहेका सुवेदीको निवासमा पुगेर हातपात गरिएको भन्दै एमालेले उक्त घटनालाई गम्भीर रूपमा लिएको जनाएको हो।
पार्टीका सचिव तुलसी कार्कीले आज जारी गरेको विज्ञप्तिमा समाजमा अराजक र उच्छृंखल प्रवृत्तिका व्यक्तिहरू अझै पनि छद्म रूपमा सक्रिय भई जनतामा त्रास फैलाउने प्रयास भइरहेको उल्लेख गरिएको छ ।
घटनाबारे निष्पक्ष छानबिन गरी यो नियोजित हो वा आकस्मिक भन्ने स्पष्ट पार्न र संलग्नलाई कडा कारबाही गर्न माग गरिएको विज्ञप्तिमा जनाइएको छ।
एमालेले नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका लागि सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ।
नगरप्रमुख सुवेदीमाथि गौरादह नगरपालिका–५ राजपति चोक निवासी ३४ वर्षीय भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी निवासमै पुगेर गालामा मुक्का प्रहार गरेको बताइएको छ । उक्त घटनामा संलग्न सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here