जेन–जी विद्रोहको परिणतिले भर्खरै सम्पन्न निर्वाचनले ऐतिहासिक रेकर्ड बनाएको छ । संविधानको व्यवस्था अनुसार दलले प्राप्त गरेको मतका आधारमा करिब चार वर्षको रास्वपाले दुई तिहाइ पु¥याउने लगभग निश्चित भएको अवस्थाले नेपालको इतिहासमा नयाँ रेकर्ड बनाउने भएको छ । समानुपातिक तर्फको मत पचास लाख कटाएको र प्रत्यक्षतर्फ पनि सर्वाधिक एक सय पच्चीस सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विद्यमान विसंगतिको अन्त्य गर्नु अब उसका लागि चुनौतीको विषय भएको छ । सम्पन्न निर्वाचनको मतपेटिकामा रहेका मत रास्वपाका लागि मतदाताको अपेक्षा हो र जनादेश पनि ।

दशक–दशकदेखि उही र उस्तै चरित्रका दलहरुबाट दिक्क भएका नेपाली नागरिकले खोजेको परिवर्तनका चाहनालाई आत्मसात गर्दै जनताको विश्वासलाई टुट्न नदिन अब बन्ने सरकार गम्भीर हुनुपर्छ । सत्ता र राजनीतिलाई बपौती ठान्ने पुराना दलका मनस्थिति, मानसिकता, चरित्र र व्यवहारका बिरुद्ध मत प्रकट गरेका मतदाताले नवीनताको चाहना प्रकट गरेका हुन् । त्यसैले जनादेश र जनमतको सम्मान गर्दै बिना कुनै सर्त र सम्झौता परम्परागत ढाँचामा आमूल परिवर्तन गरिनु पर्दछ । सरकार परम्पराकै निरन्तरता मात्र होइन यो देश र जनताको समृद्धिको आधार पनि हो भन्ने चित्रले स्पष्ट देखिनु पर्दछ । हिजोसम्म सत्ता र शक्तिको केन्द्रमा रहेका कांग्रेस, एमाले र तत्कालका माओवादीको आलोपालो गठबन्धनले विसंगतिको पहाड ठडिएको थियो । जाति, क्षेत्र वा भूगोलका नाममा राजनीतिलाई व्यवसाय बनाउँदै आएका दलहरु जनताबाट अनुमोदित नभएका मात्र होइन ती दल र तिनका नेतृत्वलाई भद्र अवज्ञा, अस्वीकार पनि हो । अबको सरकारको कार्यकाल हिजो जस्तो व्यक्ति स्वार्थको पञ्जाबाट मुक्त भएको छ त्यसैले यो अवसरलाई नयाँ सरकारले निष्ठापूर्वक संयमीत भएर, निर्धक्क र योजनाबद्ध ढंगले अघि बढाउने तर्फ अग्रसर हुनुपर्छ ।
अबको सरकारले कुनै बहाना बनाउन वा कारण देखाउन पाउँदैन । परिवर्तनकै नाममा हिजो उदाएका दलहरु त्यसकै नाममा बेथिति, कुशासन र भ्रष्टाचारमा लिप्त हुँदा बढेको गरिबी, परनिर्भरता र असफलतामा डुबेपछिको नयाँ जनादेश समृद्ध नेपाल निर्माणको सन्देश हो । त्यसैले अब बन्ने सरकारले आफ्ना पाइला सोचेर, सम्झिएर, निष्ठा र धैर्यको माध्यमबाट अघि बढाउनुपर्छ । यसका लागि हिजोका गल्ती र नेतृत्वका अहंकार, दम्भ र सर्वज्ञ ठान्ने मानसिकताको परिणामको आत्मबोध गर्दै सदाचार, हार्दिकता र भाइचाराको सम्बन्ध विस्तार गर्न र परिणाममुखी तथा जनपेक्षित कर्म गर्न सरकार समर्पित हुनुपर्छ ।


























