झापा । झापाको महेशपुरमा ४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरिएको आरोपमा १३ वर्षीय एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत फागुन २४ गते दिउँसो करिब १२ः३० बजे सांकेतिक वतन ०४–१–११–घ बस्ने ५० वर्षीया महिलाकी ४ वर्षीया नातिनीलाई सोही ठाउँ बस्ने सानो धिमालका करिब १३ वर्षीय छोराले आफ्नै घरको पछाडितर्फ लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
घटनापछि बालिकालाई फागुन २७ गते बिहान १०ः५० बजे उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा बालिका सामान्य अवस्थामा बोल्न सक्ने रहेको र उनीसँग उनकी हजुरआमा रहेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएपछि प्रहरी चौकी महेशपुरबाट प्रहरी नायब निरीक्षक डोमी साहको कमाण्डमा खटिएको टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापा ल्याएको छ ।
प्रहरीका अनुसार घटनाबारे फागुन २७ गते साँझ ६ बजे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता भएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी गुरु तिम्सिनाले जानकारी दिए ।





























