पूर्वाञ्चल पब्लिक स्कुलले १७ औँ वार्षिकोत्सव मनायो

0
7

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कुलले १७ औँ वार्षिकोत्सवसम्म आइपुग्दा आधुनिक प्रविधिलाई शिक्षासँग जोड्दै शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाएको छ। विद्यालयले डिजिटल स्मार्ट बोर्डको प्रयोगमार्फत कक्षा शिक्षणलाई आधुनिक, सहभागीमूलक र गुणस्तरीय बनाउँदै लैजाँदा विद्यार्थीहरूको सिकाइ अनुभव अझ रोचक र व्यवहारिक बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइरहँदा कक्षा १ देखि १० सम्मै स्मार्ट कक्षाको व्यवस्था गरिसकेको प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए। उनका अनुसार प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियात्मक सिकाइलाई सहज बनाउँदै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद ढकालका अनुसार परम्परागत शिक्षण पद्धतिलाई आधुनिक प्रविधिसँग जोड्दै शिक्षण प्रक्रियालाई अझ प्रभावकारी र आकर्षक बनाउने लक्ष्यका साथ स्मार्ट बोर्डको प्रयोगलाई प्राथमिकता दिइएको हो। “प्रविधिको प्रयोगले विद्यार्थीहरूमा जिज्ञासा बढाउनुका साथै विषयवस्तु बुझ्ने क्षमता पनि मजबुत बनाउँछ,” उनले बताए।

विद्यालयले फागुन ३० गते शनिबार बिहान ९ बजेदेखि विद्यालय प्राङ्गणमै १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ। उक्त अवसरमा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ।

शिक्षकहरूको क्षमता अभिवृद्धिलाई पनि विद्यालयले विशेष प्राथमिकता दिएको छ। यसका लागि विद्यालयले इन्स्पायर एजुकेसन कन्सलटेन्सीसँग १० वर्षे सम्झौता गरी नियमित रूपमा शिक्षक तालिम सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताए। उनका अनुसार तालिमप्राप्त अनुभवी शिक्षकहरूबाट नै यहाँ अध्यापन हुँदै आएको छ, जसले शिक्षाको गुणस्तरलाई थप मजबुत बनाएको छ।

यसै वर्षदेखि विद्यालयले मन्टेश्वोरी कक्षालाई समेत डिजी–स्मार्ट कक्षाको रूपमा विकास गर्ने काम सुरु गरेको छ। प्रारम्भिक तहदेखि नै प्रविधिसँग परिचित गराउने उद्देश्यले यो योजना अघि बढाइएको विद्यालय प्रशासनको भनाइ छ।

विद्यालयमा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिइएको छ। खेलकुद तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न विद्यालयसँग पर्याप्त ठूलो खेल मैदान रहेको छ, जसले विद्यार्थीहरूको शारीरिक र सिर्जनात्मक विकासमा सहयोग पुर्‍याइरहेको छ।

हाल पूर्वाञ्चल पब्लिक स्कुलमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। आधुनिक प्रविधि, प्रशिक्षित शिक्षक र समग्र विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको यस विद्यालयले अहिले सुन्दरहरैंचा क्षेत्रमा “विभिन्न आरोह र अवरोहका बीच आफूलाई नमुना विद्यालयका रूपमा परिचित बनाउँदै गएको छ। गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा र सक्रिय अतिरिक्त गतिविधिका कारण विद्यालय स्थानीय अभिभावक र विद्यार्थीहरूको रोजाइमा पर्दै गएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here