झापा, भारतको दार्जिलिङमा जन्मिएका प्रख्यात साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ राशिको उक्त सम्मान मरणोपरान्त प्रदान गर्न लागेको हो ।
प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतका अनुसार नेपाली भाषा, साहित्य र शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका खालिङलाई आगामी फागुन ३० गते बिर्तामोडस्थित ग्रिनफिल्ड वल्र्ड स्कुलको सभाहलमा आयोजित समारोहबीच सम्मान प्रदान गरिनेछ । कार्यक्रममा शिक्षासेवी राजेश खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
दार्जिलिङमा जन्मिएका खालिङले आफ्नो जीवनको अधिकांश समय नेपालमै बिताउँदै साहित्य, शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी मूलतः साहित्यकार भए पनि अनुवाद, शिक्षा र सामाजिक आन्दोलनका क्षेत्रमा समेत योगदान दिएका व्यक्तित्वका रूपमा चिनिन्छन्।
खालिङको वास्तविक नाम डानियल खालिङ हो। युवावस्थामा उनले नेपालका प्रजातान्त्रिक आन्दोलनका नेता वीपी कोइरालासंग दार्जिलिङमा भेट गरेपछि राजनीतिक तथा सामाजिक आन्दोलनबाट प्रभावित भएका थिए । त्यसपछि उनले पढाइ छाडेर २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै बन्दुक बोकेर नेपाल प्रवेश गरेका थिए । इलामको पशुपतिनगर नाकाबाट नेपाल छिरेर उनले सशस्त्र आन्दोलनमा भाग लिएको उल्लेख पाइन्छ ।
२००७ सालको आन्दोलन सफल भएपछि भने उनले राजनीतिक सक्रियता छाडेर साहित्य र शिक्षाको क्षेत्रमा आफूलाई समर्पित गरेका थिए । साहित्यकार महानन्द सापकोटासँगको संगतले उनलाई लेखन र शिक्षण क्षेत्रमा सक्रिय बनाएको थियो। उनी विभिन्न स्थानमा विद्यालय स्थापना तथा सञ्चालनमा समेत संलग्न थिए।
खालिङ नेपाली साहित्यमा अनुवादकका रूपमा पनि परिचित छन्। उनले नेपालीका प्रसिद्ध कविहरूका कृतिहरू अंग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउन योगदान दिएका थिए।
जीवनको उत्तरार्धमा दार्जिलिङमै बसोबास गर्दै आएका खालिङको निधनपछि त्यहाँको सिंहमारी क्षेत्रमा अन्त्येष्टि गरिएको थियो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू उपस्थित भएका थिए।
प्रतिष्ठानका अनुसार समाज रुपान्तरण, भाषा–साहित्यको संरक्षण तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गर्ने निर्णय गरिएको हो।
प्रतिष्ठानले विगत तीन दशकदेखि समाज परिवर्तन र सार्वजनिक जीवनमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ ।
प्रतिष्ठानले स्थापना गरेको पुरस्कार घोषणा समारोहमा संस्थाका सचिव लक्ष्मण ढकालले स्वागत गरेका थिए भने मरणोपरान्त सम्मान गर्न लागिएका व्यक्तित्वका विषयमा सचिव राजकुमार पोखरेलले परिचय गराएका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।





























