निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकार महासंघ झापालाई सम्मान

0
2

भद्रपुर ।

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई सम्मान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले बिहीबार भद्रपुरमा एक कार्यक्रमका बीच कदर पत्रसहित महासंघ झापालाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ झापा शाखाका तर्फबाट अध्यक्ष एकराज गिरीले सम्मान ग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँेल र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले महासंघ झापालाई कदर पत्र, खादा र पुष्पगुच्छासहित सम्मान गरेका थिए ।

झापाका सबै निर्वाचन क्षेत्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन पत्रकार महासंघबाट महत्वपूर्ण भूमिका निर्वाह भएको भन्दै सम्मान गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । पत्रकार महासंघ झापा शाखाले निर्वाचनको पूर्व तयारी र निर्वाचनका सन्दर्भमा निर्वाह गरेको समन्वयकारी भूमिका तथा झापाका सञ्चारकर्मी तथा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो ।

झापाली सञ्चार क्षेत्रको साझा छाता संस्थाको रुपमा महासंघलाई सम्मान गरिएको बताइएको छ । महासंघ झापाका अध्यक्ष गिरीले यो सम्मान महासंघको मात्र नभएर निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै सञ्चारकर्मी र सञ्चारमाध्यमको साझा सम्मान भएको बताए । महासंघ अध्यक्ष गिरीले झापामा विभिन्न शंकाका वीच निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय, कर्मचारी लगायत सबैको टिमवर्क र कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

यसैवीच प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समिक्षासहित निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षलाई बिहीबार भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एयरपोर्ट होटलमा आयोजना गरेको कार्यक्रम मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी, शिवराम गेलालको प्रमुख आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा झापामा स्वच्छ, मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी गेलाललाई सम्मान गरियो ।

त्यस्तै नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नम्बर २ गण हेड क्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय झापा र नेपाल पत्रकार महासंघ झापालाई कदरपत्रद्वारा सम्मान गरियो ।

मुख्य निर्वाचन अधिकृत लुइँटेल तथा अन्य चारवटै क्षेत्रका निर्वाचन अधिकृतहरु गोपी विश्वकर्मा, महेश खत्री, भिमप्रसाद भुर्तेल र विदुरकुमार कार्कीले सम्मानितहरुलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरे । मुख्य निर्वाचन अधिकृत लुइँटेलले झापामा शान्तिपूर्ण र सहज वातावरणमा विश्वसनीय ढंगले निर्वाचन सम्पनन गर्न भूमिका निर्वाह गर्ने सबै सरोकारवाला तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे ।

प्रजिअ गेलालले झापामा सम्भावित चुनौतिहरुलाई समयमै पहिचान गरी काम गर्दा सोचेभन्दा सहज ढंगले निर्वाचन भएकोमा खुशी व्यक्त गरे ।

निर्वाचन आचासंहिता अनुगमन अधिकृतको जिम्मेवारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले झापामा निर्वाचन आचारसंहिता कार्यान्वयनका क्रममा भोगेका अनुभवहरु सुनाए ।
आचारसंहिता अनुगमन अधिकृत तथा झापाका अर्का सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेसहित निर्वाचन सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्ने कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रम जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले सञ्चालन गरेका थिए ।

उत्कृष्ट टिमवर्क र कार्यकुशलताका कारण झापामा सुव्यवस्थितरुपमा निर्वाचन सम्पन्न भएको भनी सबैले प्रशंसा गरेका थिए । निर्वाचन होला कि नहोला भन्ने संशयका बीचमा अनुकरणीय र प्रशंसनीय ढंगले झापामा निर्वाचन सम्पन्न भएको त्यसअवसरमा बताइयो । झापामा आचारसंहिताको समेत दलहरुबाट र अन्य सरोकारवालाबाट पालना भएको, निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरुको समेत महत्वपूर्ण भूमिका रहेको चर्चा गरियो । यसपटकको निर्वाचन मितव्ययी हुनुका साथै निर्वाचनका दिन हुने भोजभतेर र भेला समेत नभएको बताइयो ।

प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनका क्रममा नागरिकले एकथोपा रगत पनि बगाउनु नपरोस् भनि सुरक्षा निकायलाई दिएको निर्देशन बमोजिम नै निर्वाचन सम्पन्न भएको समेत त्यस अवसरमा चर्चा गरियो । मतदान गर्ने मतदाताको उत्साह पनि निर्वाचनको सफलतामा महत्वपूर्ण पक्ष रहेको त्यस अवसरमा बताइयो ।

कार्यक्रमका वक्ताहरुले झापामा निर्वाचन सफल बनाउन पत्रकार र सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गरे । सञ्चारकर्मीहरुलाई रिपोर्टिङका क्रममा कतिपय कुरा असहज भए पनि निर्वाचनको उत्सवमा भएका त्यस्ता कमजोरीलाई आगामी दिनमा सुधार गरेर अघि बढ्नुपर्ने समेत कार्यक्रममा सुझाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here