
दर्शन यस्तो कुरा हो कि मानवले थाहा नपाएर पनि दर्शनद्वारा मार्गदर्शित भइरहेका हुन्छन् । जसले दर्शनबारे केही ज्ञान हासिल गरेका छन् । उनीहरुले दर्शनलाई अंगालेर जीवन शान्त, सुखमय र सार्थक बनाउन सक्दछन् । किनकि दर्शन मानव जीवनलाई सजिलो र मानवीय बनाउन नै विकास भएको हुन्छ ।
दर्शन भौतिक कुरा त होइन र दृष्यात्मक पनि होइन यो त महशुस गर्ने, जीवनधारामा अँगाल्ने एक उत्कृष्ट सोच, विचार हो । विश्वमा दर्शन मानव सभ्यता, महादेश र देश अनुसार फरक हुन सक्दछन्, तर दर्शनको उद्देश्य मानवलाई शान्त, सौहार्द, सहयोगी, इमान्दार, दयावान, सदाचार, आविष्कारक, संस्कारी, सभ्य आदि बनाउन मार्गदर्शन गर्दछ ।
मानव अस्तित्व पृथ्वीमा लाखौं वर्षदेखि छ । मानवको दिमागको उडानको सबभन्दा भव्य युग ५००० देखि ३००० ई.पु.सम्म मानिन्छ । जब कि मानवले खेती, सिँचाइदेखि सौर्य पञ्चाङ्गदेखि हजारौं अत्यन्त महत्वपूर्ण तथा समाजलाई कायापलट गर्ने आविष्कारहरु गरे । यसै प्रकारको मानव मस्तिष्कको तीव्रता हामी १७६० ई.पु. पछि पाउँदछौं । आविष्कारको सिलसिला शुरु भए पनि दर्शनको अस्तित्व पहिलो युगमा छँदै थिएन । दर्शन पनि क्रमशः विकास हुँदै आएको पाइन्छ ।
दोस्रो युगमा भने दर्शन बृद्ध, बुजुर्ग भयो, आफ्नो दिनहरु व्यतित ग¥यो । त्यो युगमा दर्शन बृद्ध जस्तै भए पनि यसप्रति मानवको ध्यान भने चिखिएको थिएन । दर्शनले मानिसहरुको ध्यान तबमात्र खिच्न थाल्यो जब प्रयोग आश्रित चिन्तन र विज्ञानको हात समाउन थालियो । यद्यपि यस कुरालाई सर राधाकृष्णन् जस्ता पुराना ढर्राका धर्म प्रचारक मान्न तयार थिएनन् ।
राधाकृष्णन्को विचारमा, प्राचीन भारतमा दर्शन कुनै दोस्रो विज्ञान या कलाका लग्गु भग्गु होइन, सदा एक स्वतन्त्र स्थान राख्दथ्यो । भारतीय दर्शन विज्ञान या कलाका लग्गु भग्गु नभए पनि धर्मका लग्गु भग्गु त सदा चल्दै आउँछ । अनि धर्मको गुलामी जस्तो नराम्रो गुलामी अरु के हुन सक्छ ?
३०००–२६०० ई.पु. मानवजातिको बौद्धिक जीवनको उत्कर्ष थिएन अपकर्षको समय थियो । ती युगमा मानिसहरुले धेरै कम आविष्कार गरे । पहिलो सहस्राब्दीको कडा मानसिक श्रमपछि १०००–७०० ई.पु.मा जान परेको थियो र मानव मस्तिष्क पूर्ण विश्राम लिन चाहन्थ्यो । यही स्वप्नावस्थाको उपज नै दर्शन हो । यस्तो प्रारम्भमा निश्चय पनि मानिसहरुको मनमा दर्शनको इज्जत बढ्यो, तर दर्शनको जो प्रभात थियो त्यो उसको मध्यान्न होइन ।
दर्शनको सुवर्ण युग चाहिँ ७०० ई.पु.पछिको तीनदेखि चार शताब्दी हो । यसै समयमा भारतमा उपनिषददेखि बुद्धसम्म अनि यूरोपमा थेल्सदेखि अरस्तुसम्मका दर्शनको निर्माण भएका थिए । यिनै दुई दर्शनधारा आपसमा मिलेर विश्वको सारा दर्शनधाराको उद्गम बनेको थियो । सिकन्दरपछि यी दुई दर्शनधारा एक–आपसमा मिलेका थिए र दुबै धाराहरुका प्रतिनिधि नव अफलातूनी दर्शनले अगाडि प्रगति गर्दै आएको थियो । यस समयका शक्तिशाली दर्शन अलग थलग थिएनन्, तर एक बहुमुखीन प्रगतिको उपज थिए ।
६०० ई.पु. त्यो समय थियो जबकि मिश्र, मेसोपोटामिया र सिन्धु उपत्याकाका पुराना मानव आफ्ना आकाशीय उडानपछि थाकेर बसेका थिए । तर, यसै समयमा नवआगन्तुकहरुको मिश्रणले उत्पन्न जातीय जस्तै हिन्दू र यूनानी आफ्ना दिमागी उडान शुरु गरेका थिए । दर्शन क्षेत्रमा यूनानी ६००–३०० ई.पु.सम्म अगाडि बढ्दै रहे, तर हिन्दू ४०० ई.पु.को आसपासमा थाकेर बसेको थियो । यूरोपमा ३०० ई.पु.मा नै अँध्यारो छाएको थियो र १६०० ई.पु.मा नयाँ प्रकाश या पुनर्जागरण आउन थालेको थियो । त्यसपछि लामो कालको तीन शताब्दी ९००–१२०० ई.पु.मा दर्शनको मशाल ननिभे पनि इस्लामिक दार्शनिकहरुको हातमा दर्शनको उज्यालो जल्न थाल्यो । त्यसपछि त्यसै मेसोमा आधुनिक युरोप आफ्नो दर्शनको प्रदीपलाई उजिल्याउन सफल रह्यो ।
यता दर्शनको भारतीय शाखा ४०० ई.पु.पछि चार शताब्दिसम्म आगोको ज्वालामा चिंगार बनेर बलिरह्यो । ईसाको पहिलोदेखि छैँठै शताब्दिसम्म विशेषगरी पछिल्लो तीन शताब्दीमा शर्दनले कमाल देखाएको थियो । जब कि त्यस समय पश्चिममा दर्शनको अवस्था खराब थियो । नवौंदेखि बाह्रौं शदीसम्म भारतीय दर्शन इस्लामिक दर्शनको समकालीन मात्र होइन समकक्ष रहेको थियो, तर यसपछि भने यस्तो चिरकालीन समाधी लियो कि आजसम्म उसको समाधी खुलेको छैन । यूरोपमा चाहिँ यदि सोह्रौँ शदीमा धर्मको चंगुलबाट आफूलाई मुक्त नगरेको भए इस्लामिक दर्शनको अवसानपछि त्यहाँ भारतकै जस्तो दर्शनको हालत हुने थियो ।
सोह्रौँ शदी यूरोपमा स्कोलास्तिक धर्मपोषक दर्शनको अन्त भयो, तर भारतमा स्कोलास्तिक प्रभाव पैदा हुँदै रह्यो । दर्शनको यस दासतालाई गर्वको विषय सम्झिरह्यो । यो कुरा भारतको समझमा आएन कि विज्ञान र कलाको सहयोगी बन्नुको मतलब त्यो हो जीवित प्रकृतिको जबर्दस्त आश्रय ग्रहण गरेर आफ्नो सृजनशक्ति क्षमता बढाउनु हो । जो दर्शन त्यसबाट स्वतन्त्र हुन चाहन्थ्यो । बुद्धि, जीवन र खुद स्वतन्त्रबाट पनि स्तन्त्रता चाहन्थ्यो ।
विश्वव्यापी दर्शनधारालाई हेर्दा त्यो ज्ञान हुन्छ कि, दर्शन राष्ट्रियको अपेक्षा अन्तर्राष्ट्रिय दृष्टीकोण ज्यादा छ । दार्शनिक विचारलाई ग्रहण गर्नमा विश्वले ज्यादा उदारता देखाएको छ । जसरी धर्मले एक दोस्रो देशको धर्म स्वीकार गरे । हामी जति गंगा, आमु दजला तथा नालन्दा(बुखारा(बगदाद(कार्दोवाका स्वतन्त्र स्नेहपूर्ण समागम दर्शनमा पाउँछौँ त्यति नै विज्ञानको क्षेत्रमा अलग कहीँ पाउँदैनौँ । अफसोच यो छ कि समय तथा साधनको अभावले हामीले चीन र जापानका दार्शनिक धारालाई अनुभव गर्न सकेनौँ । यति भइकन पनि यो निकर्षमा त कुनै अन्तर छैन कि दर्शनको क्षेत्रमा राष्ट्रियताको तान छेड्नेवाला स्वयम् धोखामा छन् र अरुलाई पनि धोखामा पार्न चाहन्छन् ।
(महापण्डित राहुल सांकृत्यायनद्वारा लिखित (दर्शन दिग्दर्शन ग्रन्थ अध्ययनबाट)


























