आज विश्व उपभोक्ता अधिकार दिवस । प्रत्येक वर्ष मार्च १५ का दिन मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइने गरिन्छ । मुख्यतः उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले आजका दिन उपभोक्ताका अधिकार सम्बन्धी चेतना प्रवाह गर्ने कार्यक्रमहरु गरेर मनाउने गरेका छन् । अमेरिकाका तत्कालीन राष्ट्रपति जेन अफ केनेडीले सुरक्षा, छनोट, सूचना र सुनुवाई उपभोक्ताको अधिकारका रुपमा घोषणा गरेका थिए । उपभोक्ताका यी चार अधिकार सुरक्षित गर्नुपर्ने उनको प्रस्तावलाई विश्वले स्वीकार गरेपछि मार्च १५ का दिन विश्वभर उपभोक्ता अधिकार दिवस मनाउन थालिएको हो ।

अहिले मध्यपूर्व एशियाका देशहरु युद्धको चपेटामा छन् । इरान माथि अमेरिका लगायतका देशको आक्रमणले उपभोक्ताका अधिकार कुण्डित हुन थालेको छ । उपभोक्ताको अधिकार युद्धको चपेटामा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित भएपछि अमेरिकाको राजनीतिलाई व्यापारिकरण गरेर व्यापार युद्धको थालनी भएको छ । अमेरिका र इजरायलको इरानसँगको बढ्दो तनावले विश्वभरका उपभोक्ता र व्यवसायीहरुलाई इन्धनको मूल्यवृद्धिले आर्थिक संकट पैदा गरेको छ । त्यसको असर नेपालको बजारमा व्यापक बन्दै गएको छ । इन्धनको अभाव, मूल्य वृद्धि जस्ता कारणले प्रभावित भएको छ । इरानले जहाजहरुलाई निशाना बनाउँदा र क्षेत्रीय ऊर्जा पूर्वाधारमा आक्रमण गर्दा विश्वको झण्डै बीस प्रतिशत कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्ति ठप्प भएको छ । खाना पकाउने ग्यासको अभावमा नेपालीको भान्सा समेत प्रभावित हुन थालेको छ ।
नेपालमा उपभोक्ता अधिकारको संरक्षण गर्ने भन्दै दर्जनौं ऐन–कानूनहरु बनाइएको छ । तर, त्यसको अनुभूति आमउपभोक्ताले गर्न पाएका छैनन् । अहिले पनि नेपाली उपभोक्ताहरु वस्तु र सेवा दुबै क्षेत्रमा ठगिइरहेका छन् । झुठा विज्ञापन, नियमित अनुगमनको अभाव, कमजोर नियमन र कारवाहीबाट उपभोक्ता हैरान छन् । उपभोक्ताहरु गुणस्तरहीन वस्तु, तरकारी, फलफूल, बिस्कुट, चामल, तेल जस्ता अत्यावश्यक ढुक्कले प्रयोग गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा परम्पराको निरन्तरताको कार्यक्रमले मात्र उपभोक्ताको सुरक्षा हुन सक्दैन । यही सन्दर्भमा नेपालमा पुराना दलहरु आमनिर्वाचनबाट विस्थापित भएकाले परिवर्तनको सन्देश बोकेर आएको दलले आगामी दिनमा उपभोक्ता अधिकार संरक्षणमा कति जिम्मेवार हुन्छ, त्यो समयले देखाउँछ । उपभोक्ताले उपभोग्य वस्तुमा ठगिएको अनुभूति गर्न नपरे मात्र यो दिवसको सार्थकता रहन्छ ।

























