
यस वर्ष चैत १ गते आइतबार पापमोचनी एकादशी परेको छ । चैत कृष्ण एकादशी तिथिलाई पापमोचनी एकादशीका नामले चिनिन्छ । उपवासको अघिल्लो दिन अपरान्ह पश्चात भोजन ग्रहण नगर्नु र व्रतका दिन व्रत विधान पालन गर्नु र भोलिपल्ट द्वादशी तिथिका दिन सूर्योदय पश्चात मात्र व्रत समापन गर्नु भन्ने शास्त्रीय मान्यता रहेको छ ।
जो व्यक्ति कुनै खास कारणले एकादशीको व्रत राख्न सक्दैन उसले एकादशीका दिन अन्नको अथवा विशेषगरी चामलको सेवन नगर्नु, परनिन्दा तथा झुटबाट बच्नु पर्दछ । जो व्यक्ति एकादशीका दिन विष्णु सहस्र नाम पाठ गर्दछ, उसमा भगवान विष्णुको विशेष कृपा प्राप्त हुन्छ । यदि तिथिले दुई दिन एकादशी भेटेको भए वैष्णवहरुले दोस्रो दिन र अरुले पहिलो दिन नै एकादशीको व्रत राख्नु पर्दछ ।
भगवान श्रीकृष्णसँग अर्जुन भन्नुहुन्छ– ‘हे मधुसूदन ! हजुरले फाल्गुनमास शुक्लपक्षको आमलकी एकादशीका बारेमा विस्तारपूर्वक बताउनुभयो । चैतमासको कृष्ण पक्षमा आउने एकादशीको नाम के हो र विधि के हो ? कृपापूर्वक मेरो जिज्ञासा मेटाइदिनुहोस् ।’
भगवान श्रीकृष्ण भन्नुहुन्छ– ‘हे अर्जुन ! चैत कृष्ण पक्षको एकादशी तिथिलाई पापमोचनी एकादशीको नामले जानिन्छ । एक समयको कुरा हो– पृथ्वीपति राजा मन्धाताले लोमस ऋषिलाई यही प्रश्न गर्नुभएको थियो । त्यसैले ऋषि लोमसले राजा मन्धमतालाई जे कुरा बताउनुभयो त्यही कुरा म तिमीलाई बताउँदैछु ।’ धर्म सम्बन्धी गहिरो रहस्यका ज्ञाता महर्षि लोमससँग राजा मन्धाताले सोधे– हे महात्मा ! मनुष्यको पापको मोचन कसरी सम्भव छ ? कृपा गरी कुनै यस्तो सरल उपाय बताउनुहोस् कि जसले सबैको पाप सहज तरिकाले छुटोस् ।’
महर्षि लोमस बताउनुहुन्छ– हे नृपति ! चैतमासको कृष्ण पक्षको एकादशीको नाम पापमोचनी एकादशी हो । यस व्रतको प्रभावले मनुष्यका अनेक प्रकारका पापहरु नष्ट भएर जान्छन् । म तिमीलाई यस व्रतको कथा सुनाउँछु । ध्यानपूर्वक सुन– प्राचिन समयमा चैत्ररथ नामको एक वन थियो । त्यहाँ अप्सराहरु किन्नरका साथ विहार गर्ने गर्दथे । त्यहाँको मौसम सदैव बसन्तको रहन्थ्यो । सदैव नाना प्रकारका पुष्पहरु झुलिरहन्थे । कहिले गन्धर्व कन्याहरु त कहिले देवेन्द्र र अन्य देवताहरुका साथ क्रिडा गर्दथे ।
त्यस वनमा मेधावी नामका एक शिवभक्त ऋषि तपस्यामा लीन रहन्थे । एकदिन मञ्जुघोषा नामक एक अप्सराले उनलाई मोहित गरी । ऋषिको छेवैमा बसेर वीण बजाउँदै मधुर स्वरमा गीत गाउन थाली । ऋषि माथि विस्तारै कामदेवले विजय पाउन थाल्यो । त्यसबेला ऋषि युवावस्थामा थिए । आप्mनो आकर्षणका कारण कामदेवको समान बनि सकेका मेधावीलाई मञ्जुघोषाले झनै आकर्षित गरी । ऋषि पनि उसको गायन र सौन्दर्यले मोहित बने । अब ऋषि कामदेवले पीडित भइसकेको कुरा मञ्जुघोषाले बुझि र मेधावीलाई आलिङ्गन गर्न लागी । युवतीको सौन्दर्यमा मोहित भइसकेका ऋषिले आप्mनो शिवभक्तिलाई बिर्सिए । कामवासनाले वशीभूत भइ त्यही युवतीका साथ रमण गर्न लागे । कामवासनामा बशीभूत भएका कारण ऋषिलाई दिनरात कुनै कुराको पनि ज्ञात हुन छोड्यो ।
केही समयपछि मञ्जुघोषाले भनि– हे ऋषिवर ! मेरो धेरै समय गइसक्यो । त्यसैले अब मलाई स्वर्ग जाने आज्ञा दिनुहोस् । अप्सराको कुरा सुनेर ऋषि भन्न लागे– हे मोहिनी ! साँझैमा त आयौ त्यसैले बिहान उज्यालो भएपछि जाउली । ऋषिको बचन सुनेर अप्सरा अझ रमण गर्न लागि । यसरी उनीहरु दुबैले साथ–साथ धेरै समय व्यतित गरे । अप्सराले एकदिन फेरि भनि– हे विप्र ! अब मलाई स्वर्ग जाने आज्ञा दिनुहोस् । यस पटक पनि मेधावीले उही कुरा भने– हे रुपसी ! त्यति धेरै समय बितिसकेको छैन, अरु केही समय बस । ऋषिको कुरा सुनेर अप्सरा बोली– हे मुनीवर ! हजुरको रात त ज्यादै लामो हुँदोरहेछ । हजुर स्वयम् नै सोच्नुहोस कि म यहाँ आएको कति समय भइसक्यो ? के अब अझै अरु समय यहाँ बस्नु उचित होला त ?
अप्सराको कुरा सुनेर ऋषिलाई बल्ल समयको बोध भयो । उनी गम्भीरतापूर्वक विचार गर्न लागे । जब उनलाई समयको ज्ञान भयो तब पत्ता चल्यो कि रमण गरेको सन्ताउन्न वर्ष बितेछ र उनलाई चेत आयो कि त्यो अप्सरा त उनको काल बनेर आएकी रहिछ । यति धेरै समय भोगविलासमा व्यर्थ बितेका कारण ऋषिलाई ज्यादै क्रोध उत्पन्न भयो । क्रोधको रीसमा जलेका ऋषिका इन्द्रियहरु बेकाबु हुन लागे । आप्mनो तप नाश गर्ने अप्सरालाई रीसले थर–थर काँप्दै श्राप दिन लागे– मेरो तपलाई नाश गर्ने दुष्ट त महापापिनी र दुराचारिणी होस् । अब त मेरो श्रापले पिशाचिनी भएर बस् ।
ऋषिको क्रोधयुक्त श्रापले अप्सरा पिशाचिनी भई । पिशाचिनी भएपछि अप्सरा अत्यन्त व्यथित हुँदै बोली– हे मुनिवर ! अब क्रोध त्यागेर म सँग प्रसन्न हुनुहोस् र कृपा गरी बताउनुहोस् कि यस पापको निवारण कसरी हुन्छ ? विद्वानहरु भन्छन् साधुको संगत राम्रो र शुभ फलदायी हुन्छ । हजुरसँग त मेरो धेरै वर्ष बितिसकेको छ । त्यसैले अब म सँग प्रशन्न हुनुहोस् अन्यथा एक पुण्य आत्मासँग बसेर पनि मञ्जुघोष पिशाचिनी बन्नु प¥यो भनेर मानिसहरुले कुरा काट्ने छन् ।
मञ्जुघोषाको कुरा सुनेर ऋषिलाई आप्mनो क्रोधप्रति अत्यन्त ग्लानी भयो । साथै आप्mनो बदनामीको डर पनि भयो । त्यसैकारणले पिशाचिनी बनेकी मञ्जुघोषालाई ऋषिले भन्नुभयो– तैँले ममाथि एकदमै गलत गरिस् तर पनि म तलाई यस श्रापबाट मुक्तिको उपाय बताइदिन्छु । चैत महिनाको कृष्ण पक्षको एकादशी तिथि पापमोचनी एकादशी हो । उक्त एकादशीको उपवास गर्नाले तैले पिशाचिनीको देहबाट मुक्ति पाउनेछेस् ।
तत्पश्चात ऋषिले उसलाई व्रतको विधान बताइदिए र आप्mनो पापको प्रायश्चित गर्नका लागि आप्mना पिता च्यवन ऋषिसँग गए । च्यवन ऋषिले पुत्र मेधावीलाई भने– हे पुत्र ! तैले त्यस्तो के गरिस् र तेरो तप सबै नष्ट भयो ? जसले तेरो सम्पूर्ण तेज मलिन बनाएको छ ? मेधावी ऋषिले लाजले आप्mनो शीर झुकाएर भने– हे पिताश्री ! एक अप्सरासँग रमण गरेर मैले ठूलो पाप गरेँ । यही पापका कारण हुनुपर्छ मेरो सबै तेज र तप नष्ट भएको । कृपा गरी मलाई यो पापबाट छुट्ने उपाय बताउनुहोस् ।
ऋषिले भने– हे पुत्र ! चैत कृष्ण पक्षको पापमोचनी एकादशी तिथिको भक्तिपूर्वक उपवास गर । यसका प्रभावले तिम्रो सम्पूर्ण पाप नष्ट हुनेछ । पिताको बचन सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको विधिपूर्वक व्रत गरे र यसका प्रभावले उनका सम्पूर्ण पापहरु नष्ट भए । मञ्जुघोषा अप्सरा पनि पापमोचनी एकादशीको व्रत गर्नाले पिशाचिनीको देहबाट मुक्त भइ र फेरि सुन्दर रुप धारण गरेर स्वर्गलोक गई ।
लोमस ऋषिले भने– हे राजन ! यस पापमोचनी एकादशीको प्रभावले समस्त पाप नष्ट हुन्छ । यस एकादशीको कथा श्रवण वा पठन गर्नाले मात्र पनि एक हजार गौदान गरे समान फल प्राप्त हुन्छ । यो व्रत गर्नाले ब्रम्ह हत्या, स्वर्ण चोरी, मधपान, अगम्यागमन जस्ता भयंकर पाप पनि नष्ट हुन्छन् र अन्तमा स्वर्गलोक प्राप्त हुन्छ ।

























