झापा, झापाको बिर्तामोडमा प्रहरीले १३ वर्षीया बालिकालाई गैरकानूनी रूपमा हिरासतमा राखेको र घरमै पुगेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । घटनाले मानवअधिकार उल्लङ्घनको गम्भीर प्रश्न उठाएको छ ।
बिर्तामोड नगरपालिका–४ मियावारीकी १३ वर्षीया वालिका आसिदा खातुनलाई इलाका प्रहरी कार्यालय अनारमनीले फागुन २९ गतेदेखि नियन्त्रणमा राखेको परिवारको दाबी छ । प्रहरी टोली मध्यराति घरमै पुगेर आमा मसिना खातुनसहित बालिकालाई पक्राउ गरेको थियो ।

बालिकाकी फूपु सन्जेरी खातुनका अनुसार २९ गते मध्यराति १२ बजे प्रहरी टोली घरमा पुगेको थियो । घर खानतलासी गर्ने नाममा प्रहरी आयो, आमा–छोरीलाई हत्कडी लगाएर लग्यो, उनले भनिन्, हामीलाई अहिलेसम्म भेट्नसमेत दिएको छैन ।
उनका अनुसार प्रहरीको व्यवहार ‘गुण्डागर्दी शैली’को थियो । घरभित्र प्रवेश गर्न नदिइएको, महिलामाथि पुरुष प्रहरीले नै कुटपिट गरेको र ६५ वर्षीया वृद्ध हजुरआमा जहरुन खातुनसमेत घाइते भएको उनको दाबीे छ । मेरो घर अलि टाढा थियो उनले भनिन् – भाइको घर प्रहरीले खान तलासी गरेको खवर पाएपछि म आए तर मलाई घर भित्र पस्न दिएन । 
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक नवराज थापा नेतृत्वको टोलीले घरमा तोडफोड गर्दै नगद तथा गरगहना समेत लगेको गम्भीर आरोप लगाएका छन् । घर वरिपरि सुन र लागू औषध लुकाएको आशंकामा खनेको, खाने अन्न छरिएको, दराज फुटाइएको र शौचालयसमेत खनेको उनीहरूको भनाइ छ ।
‘घरमा भएको नगद, गरगहना सबै लग्यो, कति लग्यो थाहा छैन,’ सन्जेरी खातुनले भनिन्, ‘हातमा हत्कडी देखाएर धम्क्याएपछि भाइ (आसिक आलम) फरार भए ।’
परिवारका अनुसार उक्त रकम घर निर्माण र जग्गा खरिदका लागि राखिएको थियो । उनीहरूले दैनिक मजदुरी गरेर जम्मा गरेको पैसा र घर बनाउन लिएको ऋणसमेत प्रहरीले लुटेरा शैलीमा लगेको उनको आरोप छ ।
घटनामा घाइते भएकी वालिकाकी मावलकी हजुरआमा जहरुन खातुनले प्रहरीले गरेको कुटपिटको पीडा सुनाउँदै भनिन् – “नातिनीलाई हत्कडी नलगाऊ, मलाई लगाऊ भनेर भनेँ,” उनले भनिन्, “तर प्रहरीले उल्टै गालामा थप्पड हानेर घाइते बनायो ।”अहिले पनि गाला सुन्निएको छ ।
आसिदा खातुन बिर्तामोड–३ स्थित मदरसा तालिम कुरानमा कक्षा ४ मा अध्ययनरत छिन् । परीक्षा नजिकिँदै गर्दा उनी प्रहरी नियन्त्रणमा परेपछि पढाइ प्रभावित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
छिमेकीहरू भन्छन्, “आमा–बुबाले गल्ती गरे भने कारबाही होस्, तर नाबालिकालाई यसरी हिरासतमा राख्नु गलत हो ।”
ज्यानमाराको मुद्दामा रहेका अभियुक्तलाई समेत भेट्न पाउने व्यवस्था हुँदा पनि निर्दोष बालिकालाई आफूहरूले भेट्न नपाएको उनीहरुको गुनासो छ ।घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काले बालिकालाई हिरासतमा नराखिएको दाबी गरेकी छन् ।
उनका अनुसार “परिवारमाथि अनुसन्धान भइरहेकाले बालिकालाई संरक्षणमा राखिएको” हो ।
प्रहरीले दिएको विवरणअनुसार गोप्य सूचनाका आधारमा घरमा छापा मार्दा ठूलो परिमाणमा नगद, भारतीय रुपैयाँ, सुन–चाँदीका गरगहना र मोटरसाइकल बरामद भएको छ । ती सामग्री चोरीसँग सम्बन्धित हुनसक्ने आशंकामा आमा–छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
यता घटनाले कानुनी प्रक्रिया र मानवअधिकारको विषयमा गम्भीर बहस जन्माएको छ । राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनालले यस्तो कार्य गैरकानूनी हुने स्पष्ट पारे । ‘खानतलासी पूर्जी विना घर खानतलासी गर्न पाइँदैन,’ उनले भने, ‘मानिसलाई नियन्त्रणमा लिँदा कुटपिट गर्न पाइँदैन, नाबालिकालाई हिरासतमा राख्न मिल्दैन ।’
उनका अनुसार यदि आरोप सत्य भए ‘यो सरासर मानवअधिकार उल्लङ्घ’ हो र सञ्जालले गम्भीर रूपमा लिनेछ ।
अधिवक्ता तारामणि सापकोटाले पनि नाबालिकासम्बन्धी कानुनी प्रावधान स्पष्ट रहेको बताए । ‘बालबालिकालाई पक्राउ गरेर हिरासतमा राख्न पाइँदैन,’उनले भने, “त्यस्तो अवस्थामा बाल संरक्षण कक्षमा राखेर सादा पोशाकका प्रहरीले अनुसन्धानका क्रममा हेरचाह गर्नुपर्छ ।’ तर, फैजदारी अपराध ग¥यो भनेपनि हिरासतमा राख्न पाइँदैन ।
घटनापछि परिवार न्यायको खोजीमा छ । प्रहरीको कुटपिट, गैरकानूनी हिरासत र सम्पत्ति हिनामिनाको छानबिन हुनुपर्ने उनीहरूको माग छ । स्थानीयहरू समेत घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पक्षमा देखिएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा विना कसुर पुगेका बिर्तामोडका युवा व्यवसायी कृष्ण अग्रवालले हिरासत कक्षमा हुने गरेको कुटपिटको घटना सार्वजनिक गरेपछि प्रहरीको कर्तुत खुलेको हो ।






























