झापा । भद्रपुर मा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले मंगलबार राति करिब ९ः३० बजे भद्रपुर ६ स्थित श्रवण यादवको घरमा छापा मारेको थियो। घर खानतलासीका क्रममा करिब ५० ग्रामभन्दा बढी ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई नियन्त्रणमा लिइएको छ।
यसैगरी, सोही राति करिब १०ः३० बजे भद्रपुर बसपार्क क्षेत्रमा गरिएको थप कारबाहीमा चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३० वर्षीय शुभम साह, ३० वर्षीय जयकरण कहार, ३५ वर्षीय दुलाल शेख र २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन्।
प्रहरीका अनुसार दुलाल शेखको साथबाट मात्र करिब १० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरी ले जनाएको छ।






























