इनरुवा( सुनसरी),

सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ। “श्रीमद्भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ” को सम्पूर्ण तयारी पूरा भएसँगै यहाँ एक भव्य धार्मिक महोत्सवको माहोल सिर्जना भएको हो।
आगामी २०८२ साल चैत्र ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर निर्माण कार्यलाई पूर्णता दिने पवित्र उद्देश्यसहित आयोजना गरिएको हो। आयोजकका अनुसार महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक चेतना र एकताको सन्देश फैलाउने विश्वास लिइएको छ।
महायज्ञको उद्घाटन दिन चैत्र ५ गते बिहान १० बजे भव्य कलश शोभा यात्राबाट गरिनेछ। यस शोभा यात्रामा हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सोही दिन दिउँसो १ बजे मण्डप समुद्घाटन गरिने कार्यक्रम तय गरिएको छ।
कार्यक्रम अवधिभर दैनिक रूपमा बिहान ७ बजेदेखि पूजा–पाठ सञ्चालन हुनेछ भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन गरिनेछ। बेलुका ७ बजेदेखि १० बजेसम्म भजन–कीर्तन तथा आकर्षक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महायज्ञको विशेष आकर्षणका रूपमा चैत्र १० गते “नन्द उत्सव” मनाइनेछ भने सोही दिन २१० फिट अग्लो नेपालकै गौरवशाली राष्ट्रिय झण्डा समुद्घाटन गरिने कार्यक्रमले थप चर्चा बटुलेको छ। यस कार्यक्रमले राष्ट्रिय एकता र गौरवको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी चैत्र १२ गते बेलुका ४ बजे लक्ष्य दीप प्रज्वलन तथा रात्री जागरण कार्यक्रम आयोजना गरिनेछ, जसले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउने विश्वास गरिएको छ। महायज्ञको समापन चैत्र १३ गते पूर्णाहुति, समापन समारोह तथा तिलकपाती वितरणसँगै गरिनेछ।
महायज्ञमा नेपालकै प्रखर युवा आचार्य पण्डित कुमार निरौलाको मुखारविन्दबाट संगीतात्मक शैलीमा श्रीमद्भागवत कथा वाचन हुने आयोजकले जनाएको छ। उहाँको वाचनले भक्तजनहरूलाई आध्यात्मिक ज्ञानसँगै भावनात्मक स्पर्श दिलाउने अपेक्षा गरिएको छ।
इनरुवा–७ को चान्दबेला स्थित श्री माता पाथीभरा मन्दिर निर्माण क्षेत्रमा आयोजना हुन लागेको उक्त महायज्ञ श्री माता पाथीभरा मन्दिर व्यवस्थापन समिति तथा डि एन ग्रुप अफ कम्पनीको आयोजनामा विभिन्न उपसमितिहरूको सहकार्यमा सम्पन्न हुन लागेको हो।
आयोजकले सम्पूर्ण श्रद्धालु, धर्मप्रेमी तथा आम नागरिकलाई महायज्ञमा उपस्थित भई पुण्य आर्जन गर्न हार्दिक निमन्त्रणा दिएको छ। यस महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सामाजिक सद्भाव र विकासमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।






























