नवीनताको अपेक्षा

0
12

नेपालको राजनीति बहुजनले अपेक्षा गरे अनुरुप पुस्तान्तरणको ढोकामा उभिएको छ । जेन–जी बिद्रोहको माग जस्तै विशिष्ट परिस्थितिमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले अधिकांश नयाँ र युवा अनुहारलाई संसदको ढोका खेलेको हो । यसै पनि यान्त्रिक उपकरणलाई जस्तै राजनीतिमा पनि पुनर्संंरचना आवश्यक हुन्छ । जसले राज्यका सबै अङ्गहरुलाई पुनर्ताजगी र ऊर्जा प्रदान गर्छ । देशमा वर्षौंदेखि हुर्किएको बेथिति, विकृति र भ्रष्टाचारले थिलथिलो भएको संयन्त्रको परिवर्तन जेन–जी विद्रोहको माग थियो । त्यही मागले अपेक्षा गरे जस्तै फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आममतदाताले संयन्त्रको नवीकरण र पुनर्ताजगीका लागि मार्गप्रशस्त गरिदिएका छन् ।

अबको संसद युवाबहुल व्यवस्थापिका सभा हुनेछ । त्यही व्यवस्थापकीय परिधिबाट नियम कानून र त्यसको कार्यान्वयनका सम्बन्धमा व्यवस्थापन हुनेछ । त्यही व्यवस्थापनले सुशासनको प्रत्याभूति गराउने छ । आममतदाताको त्यही अपेक्षा छ । यद्यपि जेन–जी विद्रोह राज्यको बर्बर दमनबाट मृत्युवरण गर्न पुगेका विद्यार्थी युवा तथा सर्वसाधारणको बलिदान उनीहरुका परिवारका लागि अतिशय पीडाको घटना हो । त्यही घटनाको प्रतिक्रियाका रुपमा दोस्रो दिनको भौतिक क्षति इतिहासकै दुखान्त परिणति हो । त्यसकै बलमा भएको निर्वाचनले विगतमा कुनै राजनीतिक गतिविधिमा सामेल नभएका नयाँ अनुहार प्रतिनिधिसभामा देखिने छन् भने देख्दा–देख्दा गरेका पुराना अनुहारहरु वर्तमान संसद अर्थात् प्रतिनिधिसभामा देखिने छैनन् । युवा सांसदहरुको उल्लेख्य र उत्साहजनक उपस्थिति नेपालको इतिहासमै नवीन परिस्थितिका रुपमा रहने छ ।

पुरानो अनुहार हराउनु मात्रै देशको वर्तमान आवश्यकता होइन । अबको संसद सत्ता स्वार्थको चलखेलबाट मुक्त हुनुपर्छ, विगतको जस्तो सरकारको लाचार छायाँ मात्र बन्नु हुँदैन । जनचासोका विषय बहसको विषय नै नबनिएको विगतको संसद जस्तो हाजिर गर्ने भत्ता खाने मात्रै पनि हुनुहुँदैन । जनजीविकाका विषयहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका विषयहरु माथि गम्भीर बहस गर्दै आमजनताको पहुँचमा पुग्ने कार्यक्रम पनि आउनुपर्छ । आशा पनि छ कि नवगठित प्रतिनिधिसभा देशमा विद्यमान कुशासन र भ्रष्टाचारजन्य दीर्घरोगलाई न्यूनीकरण गर्दै निर्मूल गर्न अग्रसर हुनेछ । बद्लिएको परिस्थिति, समय र वर्तमानका आवश्यकताहरुको पहिचान गर्दै प्रविधियुक्त र समाज रुपान्तरणको यात्रामा अब बन्ने सरकार र संसद सफल हुनेछ । आमनेपाली खासगरी नेपाली मतदाताको सरोकार र अपेक्षा पनि यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here