खोटाङ ।

काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ ।
एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा आज दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ ।






























