कोशी प्रदेशमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघको समिति गठन

0
1

सुन्दरहरैंचा (मोरङ),

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालले कोशी प्रदेश स्तरमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिँदै नयाँ प्रदेश समिति गठन गरेको छ। बुधबार विराटनगरमा सम्पन्न एक विशेष भेलाले कमला कडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा झापाका ओमप्रकाश गौतम चयन भएका छन् भने महिला उपाध्यक्षको जिम्मेवारी सुनसरीकी कोशिला चौधरीले पाएकी छन्। त्यस्तै, महासचिवमा मोरङकी सक्रिय सामाजिक अभियन्ता पार्वती गच्छदार चयन भएकी छन् भने कोषाध्यक्षमा इलामका रमेशचन्द्र सुवेदी चयन भएका छन्।

महासंघको विधानअनुसार प्रदेश समितिमा जिल्ला अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार मोरङ जिल्लाबाट दिलीप कुमार काफ्ले पदेन सदस्यका रूपमा समितिमा समावेश गरिएको जानकारी दिइएको छ।

भेलाले संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। जसअन्तर्गत सदस्य संस्था नविकरण अभियान सञ्चालन गर्ने, सबै जिल्लामा समिति गठन तथा पुनर्गठन प्रक्रिया अघि बढाउने र पालिका स्तरसम्म संगठन विस्तार गर्ने निर्णय गरिएको छ। यसबाट महासंघलाई तल्लो तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य लिइएको जनाइएको छ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज धनराज कटुवाल र केन्द्रीय सदस्य केशरकुमार बस्नेतको विशेष उपस्थिति रहेको थियो। उनीहरूले संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

नवगठित प्रदेश समितिले सामाजिक विकास, सुशासन प्रवर्द्धन तथा गैरसरकारी संस्थाहरूको हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, प्रदेशभर रहेका गैरसरकारी संस्थाहरूबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here