सडकमा लडिरहेको अवस्थामा भेटिएका युवकको मृत्यु

0
2

सुन्दरहरैँचा,

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहान सडकमा गम्भीर घाइते अवस्थामा भेटिएका एक युवाको अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको छ।

मोरङ प्रहरीका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका–९ का ३२ वर्षीय पंकज साह रहेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोठगाउँको सडक नजिकै बिहान ६:१५ बजे उनलाई स्थानीय र प्रहरीले घाइते अवस्थामा फेला पारेका थिए।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार साहको शरीरका विभिन्न भाग, टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको थियो। प्रहरी चौकी गछियाका सई राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनलाई तत्कालै उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्‍याएको थियो। तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरिदिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट साह बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको पत्ता लागेको छ । प्रहरीका अनुसार उनी घाइते अवस्थामा फेला परेको घटनास्थल नजिकै मोटरसाइकल स्टेण्ड लगाएर राखिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका वरिष्ठ सइ डम्बरबहादुर थापा र इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर भीमराज राई नेतृत्वको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

‘घाइतेको कम्मरमुनि र शरीरको विभिन्न भागमा धेरै चोटपटक थियो । उद्धार गरेर उपचारका लागि पठाए पनि चिकित्सकले मृत घोषित गरिदिए । घटनास्थलनजिकै साहको समेत फेला परेको थियो,’ डीएसपी लामिछानेले भने । उनका अनुसार सवारीसाधनको ठक्करबाट साहको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here