आसिदा खातुन प्रकरण : प्रहरीले पाँच लाख मागेको दावी

0
2

झापा, इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट छुटेकी बालिकाले प्रहरीको ज्यादतीको खुलासा गरेकी छिन् ।

बिर्तामोड–४की १४ वर्षीया बालिका आसिदा खातुनले हिरासत तथा घरमा नै आफू र आफ्नी आमा मसिना खातुनमाथि कुटपिट भएको खुलासा गरेकी हुन् । प्रहरीले आफूलाई मार्नेसम्मको धम्की दिएको समेत गम्भीर आरोप लगाएकी छिन् ।

बालिकाले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रहरीले आफ्ना वुवासँग पाँच लाख रुपैयाँ रकम माग गरेको र नदिएपछि बुवालाई समेत कुटपिट गरेपछि बुवा भागेको बताइन् । राष्ट्रिय मानव अधिकार सञ्जाल झापाका महासचिव दीपक दाससहितको रोहवरमा उनलाई प्रहरीले छोडेको थियो ।

बालिकाले नगद रकम र गहरगहना आफूहरुकै भए पनि प्रहरीले चोरीको सामान भन्दै बरामद गरेर बीलहरु च्यातेको उनको आरोप छ । उनले प्रहरीले रकम माग गरेको र नदिएपछि कुटपिट गर्न थालेको उल्लेख गरेकी छिन् । कानून विपरीत वालिकालाई हिरासतमा राखेको घटना पूर्वाञ्चल दैनिकले सार्वजनिक गरेसँगै इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको चर्काे आलोचना भएको थियो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय झापाले चैत ४ गते एक विज्ञप्ति प्रकाशित गरी घटना ढाकछोपको प्रयास गरेको थियो ।

सोही दिन प्रहरीले मानव अधिकार सञ्जालको रोहवरमा बालिकालाई राति साढे आठ बजे इलाका प्रहरी कार्यालय अनारमनी परिसरबाट आफन्तको जिम्मा लगाएको थियो । बालिकाले चोरीमा संलग्न भएको भन्दै आफू र आमालाई चकचकी लैजाने क्रममा चोरीको सामान फेला नपरे गोली हानेर चिया बगानमा फ्याँकी दिने सम्मको धम्की दिएको सनसनी पूर्ण खुलासा गरिन् । उनले प्रहरीले शारीरिक र मानसिक यातना दिएर आफूहरुलाई चोरीमा सम्लग्न भएको प्रमाणित गर्न खोजेको बताइन् ।

प्रहरीले विज्ञप्तिमार्फत आफूहरुले कुटपिट र कुनै मानसिक यातना नदिएको दावी गरे पनि उक्त दावी झुटो भएको बालिकाको भनाइ छ । प्रहरीले झापामा लागूऔषध र चोरीका घटना बढेसँगै निगरानी बढाएको थियो । सोही क्रममा फागुन २९ गते बिर्तामोड–४स्थित मियावारी बस्ने जगत बस्नेतको घरमा लागूऔषध विक्री बितरण भइरहेको तथा चोरीका धनमाल लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव निरीक्षक नवराज थापा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाका प्रहरी नायव निरीक्षक सोमेश लामिछानेको कमाण्डमा सो घरमा प्रहरी टोली मध्यराति पुगेको थियो ।

प्रहरीले खान तलासीको क्रममा लागूऔषध फेला नपारेको पाइएको छ । सोही घरमा डेरामा बस्ने मसिना खातुन तथा उनकी १४ वर्षीया छोरी आसिदा खातुनलाई पक्राउ गरेपछि मसिनाका श्रीमानलाई भने कुटपिट गरेपछि उनी त्यहाँबाट फरार भएका थिए ।

यता प्रहरीले भने मसिनाका श्रीमान सो दिन घरमा नरहेको झुठो दावी गरेको छ । प्रहरीले नगदसहित गरगहाना तथा मे ६ प ४९१ नम्वरको मोटरसाइकल समेत बरामद गरेको थियो । उक्त सामग्रीहरु आफूहरुकै रहेको खातुन परिवारको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here