झापा–३ मा कांग्रेसको हारः आन्तरिक विभाजनदेखि जनअसन्तुष्टिसम्म

0
16

 विनोद सापकोटा

झापा, झापा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको अप्रत्याशित पराजयले पार्टीभित्र गम्भीर समीक्षा आवश्यक भएको नेताहरुले बताएका छन् । चुनावअघि देखिएको प्रतिस्पर्धात्मक अवस्था र कार्यकर्ताको सक्रियताका बाबजुद अन्तिम परिणाम कांग्रेसको पक्षमा आउन नसक्नुले आन्तरिक कमजोरीहरू उजागर गरेको उनिहरुले बताए ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो हार एउटै मात्र कारणको परिणाम होइन । संगठनभित्रको गुटगत विभाजन, उम्मेदवार चयनप्रतिको असन्तुष्टि, जनप्रतिनिधिहरूप्रति बढ्दो असन्तोष र मतदाताको बदलिँदो मनोविज्ञानको संयुक्त प्रभाव भएको उनिहरुले बताए । झापा डेडलाइनले जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रभित्र २०० जना मत जाहेर गरेका सर्वसाधरण सँग गरेको अनौपचारिक सर्वेक्षणले पनि त्यही संकेत गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये ७८ प्रतिशतले स्थानीय तहका जनप्रतिनिधिहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ विकल्प खोज्न बाध्य भएको बताएका छन् । उनीहरूले पार्टीप्रति आस्था कायमै रहे पनि व्यवहारमा मत परिवर्तन गर्नुपरेको उल्लेख गरेका छन् । हल्दीबारी गाउँपालिकाका एक मतदाता उमेश काफ्ले (नाम परिवर्तन) भन्छन्, ‘जनप्रतिनिधिले के गरेनन् भन्ने भन्दा पनि जनमैत्री के काम गरे त भन्ने प्रश्न महत्वपूर्ण हो । त्यसैले यो पटक हामीले पार्टी होइन, विकल्प रोज्यौं । उनका अनुसार धेरै मतदाताले ‘एकपटक नयाँलाई हेरौँ’ भन्ने मनोविज्ञानका साथ मतदान गरेका थिए । ‘पार्टी छोडेका छैनौँ, तर मत चाहिँ अर्कोतिर हाल्यौँ,’ शर्वेक्षणमा सहभागि अधिकांसको भनाइ छ ।

सबैभन्दा प्रमुख कारणका रूपमा पार्टीभित्रको गुटबन्दीलाई सर्वसाधरणले लिएका छन् । लामो समयदेखि जारी शक्ति संघर्षले चुनावी समयमा समेत एकीकृत रणनीति बनाउन नसक्दा परिणाम खस्केको उनिहरुको तर्क छ । यसको प्रभाव कार्यकर्तास्तरसम्म पुगेको देखिन्छ । ‘कतिपय स्थानमा कार्यकर्ता निष्क्रिय बस्ने वा मौन विरोध गर्ने अवस्था समेत देखियो । जसले प्रत्यक्ष रूपमा मत परिणाममा असर पारेको हो,’ काफ्ले भन्छन् । स्थानीय तहका जनप्रतिनिधिहरूप्रति देखिएको असन्तोष पनि अर्को निर्णायक कारक बनेको सर्वसाधरण मतादाताले बताएका छन् । सेवाग्राहीप्रतिको व्यवहार, कार्यशैली र भ्रष्टाचारसम्बन्धी आरोपहरूले जनतामा वितृष्णा बढाएको उनिहरुको भनाई छ ।

स्थानीय तह नै जनताको नजिकको सरकार भएकाले त्यहाँको असन्तुष्टि प्रत्यक्ष रूपमा फागुन २१ को निर्वाचनको मतमा रूपान्तरण भएको प्रष्ट देखिन्छ । पार्टीका नेताप्रतिको असन्तुष्टि, बढ्दो महँगी, बेरोजगारी र स्थानिय सरकारको सेवा प्रवाहमा कमजोरीले पनि मतदाताको धारणा बदलिएको छ । विशेष गरी युवा मतदातालाई आकर्षित गर्न नसक्नु कांग्रेसका लागि अर्को चुनौती बन्यो । झापा ३ बाट नेपाली कांग्रेसका पराजित उम्मेदवार राजेन्द्र घिमिरे ले पार्टीभित्रको संरचनागत सुधारको आवश्यकता औंल्याएका छन् । उनले भने, ‘पार्टीभित्रको गुटीय प्रभाव, नातावाद र अवसरवादी प्रवृत्ति अन्त्य नगरेसम्म सुधार सम्भव हुँदैन ।

योगदान, क्षमता र जनविश्वासका आधारमा सदस्यता पुनर्संरचना गर्न जरुरी छ,’ उनले भने । ‘क्रस भोटिङ’ को विषय पनि चर्चामा छ । तर घिमिरेले यसलाई मुख्य कारणभन्दा सहायक कारणका रूपमा हेरिएको बताए । नेता संगको आन्तरिक असन्तुष्टि र कमजोर समन्वयकै कारण केही मत अन्यत्र गएको अनुमान गरिएको छ । झापा–३ जस्तो परम्परागत प्रभाव रहेको क्षेत्रमा कांग्रेसको हार हुनु पार्टीका लागि चेतावनीका रूपमा लिइएको छ । संगठनात्मक एकता, पारदर्शी नेतृत्व र जनविश्वास पुनःस्थापना नगरेसम्म आगामी दिनमा अझ चुनौती थपिन सक्ने घिमिरेले देखेका छन् ।

घिमिरलेले झापा ३ को यो परिणामले नेपाली कांग्रेसको बाह्य प्रतिस्पर्धाभन्दा ठूलो चुनौती आन्तरिक सुधार आवस्यक रहेको बताए । समयमै संगठन सुदृढीकरण र नीतिगत स्पष्टता ल्याउन सकिएन भने यस्तो परिणाम दोहोरिन सक्न उनको भनाई छ । इतिहास हेर्दा यही क्षेत्रमा २०७४ को संविधान सभा र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सँग पराजय व्यहोरेका थिए । जबकि यसअघि सिटौलाले यही क्षेत्रमा पटकपटक विजय हासिल गरेका थिए ।

नेकपा एमालेको समर्थन पाएका लिङ्देनले त्यसबेला कांग्रेसका सिटौलालाई पराजित गरेका थिए । तर यसपटक प्रमुख दलहरू आ–आफ्नै चुनावी मैदानमा उत्रिँदा समेत कांग्रेसले आफ्नो पुरानो विरासत फर्काउन सकेन । स्थानीय नेताहरूका अनुसार आन्तरिक असन्तुष्टि यति गहिरो थियो कि कतिपय नेताहरू महाधिवेशनको आन्तरिक समीकरण बिग्रिने डरले चुनावी अभियानमै खुलेर सहभागी हुन चाहेनन् । भातृ संगठनहरू तरुण दल र विद्यार्थी संघ समेत प्रभावकारी रूपमा परिचालित हुन सकेनन् ।

परिणामस्वरूप उम्मेदवार आफैंले पार्टीका विभिन्न तहका नेताहरूसँग आग्रह गर्दै मत माग्नुपर्ने अवस्था सिर्जना भयो । ‘संगठन नै निष्क्रिय हुँदा चुनाव जित्ने आधार कसरी बन्छ ?’ भन्ने प्रश्न अहिले कांग्रेसभित्रै उठ्न थालेको छ । पहिला क्रियाशिल सदस्यता वितरण नजिकका भन्दा पनि पार्टीलाई दिएको योगदानका आधारमा वितरण गरौ अनि कांग्रेस सुध्रिन्छ । नत्र दिउसै बत्ति बालेर पार्टी खोज्नुपर्ने घिमिरेको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here