‘पुस्तक तथा स्टेसनरी व्यवसायलाई व्यवस्थित गर्नुपर्छ’

0
20

सुरुङगा। 

झापा क्षेत्र नम्बर ४ मा पुस्तक तथा स्टेसनरी व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनी दायराभित्र राख्ने उद्देश्यसहित व्यवसायीहरूले सशक्त आवाज उठाएका छन् ।

कनकाई नगरपालिका–सुरुङ्गास्थित होटल समृद्धिमा शनिवार सम्पन्न व्यवसायीहरूको ऐतिहासिक प्रथम भेलाले पुस्तक कारोबारलाई व्यवस्थित बनाउन महत्वपूर्ण निर्णयहरू गर्दै जिल्ला समितिसमक्ष विभिन्न मागहरू प्रस्तुत गरेको छ ।

भेलामा सहभागी अधिकांश व्यवसायीहरूले नेपाल सरकारबाट विधिवत अनुमति नलिएका तथा सम्बन्धित संघको सदस्यता नलिएका गैर–व्यवसायीलाई पुस्तक खरिद–बिक्री गर्न पूर्ण रूपमा रोक लगाउनुपर्नेमा जोड दिएका छन् ।

पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ व्यवसायीहरूको छाता संगठन भएकाले यसको सदस्यता नलिएका व्यक्तिलाई कारोबार गर्न दिनु उचित हुँदैन । यसले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा मात्र होइन, गुणस्तरहीन सामग्रीको बिक्रीलाई समेत बढावा दिने गरेको उनीहरूको भनाइ छ ।

निजी प्रकाशन गृहका अधिकृत विक्रेताहरूलाई पनि संघको सदस्यता नलिएका व्यवसायीलाई आगामी शैक्षिक सत्रदेखि पुस्तक उपलब्ध नगराउन आग्रह गरिएको छ । व्यवसायीहरूले स्पष्ट रूपमा भनेका छन् कि अबदेखि नेपाल सरकारबाट आधिकारिक अनुमति प्राप्त गरेका र संघमा आबद्ध भएका व्यवसायीलाई मात्र पहिचानका आधारमा पुस्तक उपलब्ध गराइनुपर्छ । यसका लागि आगामी शैक्षिक सत्रदेखि परिचयपत्र प्रणाली लागू गर्नुपर्ने माग पनि उठाइएको छ ।

संघको सदस्यता विस्तार र नवीकरणलाई समेत प्राथमिकता दिँदै, छुटेका व्यवसायीलाई फागुन मसान्तसम्म समय दिइएकोमा हालसम्म १५३ जना व्यवसायी सदस्य भइसकेका छन् । बाँकी व्यवसायीलाई समेट्न चैत १५ गतेसम्मको समय थप गरिएको संघका जिल्ला अध्यक्ष बिनोद सापकोटाले जानकारी दिएका छन् ।

यसैबीच, विद्यालय परिसरभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संघले झापाका १५ वटै स्थानीय तहलाई ध्यानाकर्षण गराएको छ ।

इमेलमार्फत पठाइएको पत्रमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आफ्नो हाताभित्र कुनै पनि शैक्षिक सामग्री बिक्री नगर्न अनुरोध गरिएको छ । कतिपय निजी विद्यालयहरूले आफ्नै नाममा कापी छपाई गरी विद्यार्थीलाई बिक्री गरिरहेको गुनासो आएकोले त्यसको समेत कडाइका साथ अनुगमन गर्न संबन्धित निकाय संग संङघले आग्रह गरेको छ ।

उपभोक्तालाई प्रलोभनमा पारेर गुणस्तरहीन सामग्री बिक्री भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संघले सचेत रहन उपभोक्तालाई अपिल गरेको छ । व्यवसायीहरूलाई पनि कानुनी अनुमति अनुसारको मात्र कारोबार गर्न महासंघले अनुरोध गरेको छ ।

शनिवारको भेलाले नयाँ नेतृत्व समेत चयन गरेको छ । कन्काईका वल्लभकुमार गौतम अध्यक्षमा सर्वसम्मत चयन भएका छन् भने झापा गाउँपालिकाका शंकर पाण्डे सचिव बनेका छन् । सदस्यहरूमा कनकाईका रमेश बिमली, शिवसताक्षीकी रोहिता भट्टराई र प्रतिमा भट्टराई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गौतमले सबै व्यवसायीलाई संघमा आबद्ध भई व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आह्वान गरेका छन् । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने अन्त्यमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here