अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–९स्थित गोलधाप युवा क्लबको आयोजनामा आयोजित ४५ दिने ब्यूटिसियन तालिम शनिबार सम्पन्न भएको छ ।
स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिेएको क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए ।
अर्जुनधारा जेसीज शनिश्चरेकी महासचिव एवम् तालिमकी प्रशिक्षक कला विष्टले हेयर स्टाइल, स्कीन केयर र मेकअप आर्टिस्ट्री बारे प्रशिक्षण दिएको कार्यक्रममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा प्रशिक्षार्थी सुष्मा दाहालले तालिमको अनुभव प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य गौरीमाया चिमरीया, वडा सदस्य बुद्धिमान लिम्बू, नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राई, प्रशिक्षक विष्टलगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्न सुझाएका थिए ।
क्लबका सचिव भूपालराज कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव मौसम मगर “आइडू”ले गरेका थिए ।































