एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

0
2

रसुवा,

एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । आमा छोदिङ्मो गाउँपालिका–३ गतलाङ स्वास्थ्य चौकीको स्वामित्वमा रहेको एम्बुलेन्स दुरुपयोग गरी चिनियाँ चुरोट काठमाडौँतर्फ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

बिरामी बोकेको बहाना बनाई काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीको बेत्रावति सुरक्षा चौकीले एम्बुलेन्स जाँच गर्दा तीन हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी रमेश रायका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक गतलाङका ४३ वर्षीय दावानुर्पु तामाङ, सोही गाउँपालिका–५ का चिलिमेका २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन् ।

यसैगरी, रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ का २४ वर्षीय विकास तामाङलाई केरूङबाट नेपालतर्फ आउँदै गर्दा सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट २ ग्राम कालो चरेश तथा पहेँलो सात र सुन्तला रङ्गका पाँच क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here