पार्थ मण्डल /झापा ।

भद्रपुर–४ स्थित नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र, झापा शाखालाई केन्द्रीय समितिले विघटन गरी नयाँ तदर्थ समिति गठन गरेको भन्दै शाखाका पदाधिकारी तथा सदस्यहरू विरोधमा उत्रिएका छन् ।
अदालतको अन्तरिम आदेशले बनेको केन्द्रीय समितिले झापा जिल्ला शाखालाई विघटन गरी लगाइएको विभिन्न कपोकल्पित लाञ्छनाहरू प्रमाणित नभए सम्म केन्द्रले गरेको कुनै पनि निर्णयहरू कार्यान्वयन नगर्ने÷नगराउने आन्दोलन परिचालन समितिका संयोजक तोयानाथ गडतौलाले बताए ।
केन्द्रीय समितिले फागुन १२ र १३ गते गरेको भनिएको जिल्ला शाखा विघटन र नयाँ तदर्थ समिति गठनको निर्णय पूर्णतः एकपक्षीय र विधान विपरीत छ । जिल्ला शाखाको आफ्नै पहलमा अपाङ्गताको क्षेत्रमा कोशी प्रदेशको एक मात्र अपाङ्गता पुनस्र्थापना केन्द्र मार्फत संवेदनशील सेवा सञ्चालन गरिरहेको निर्वाचित समितिलाई कुनै आधार प्रमाण बेगर नै आफ्नो स्वार्थ सिद्ध गर्ने मनसायले अदालतबाट अन्तरिम आदेश प्राप्त गरेको वर्तमान केन्द्रीय समितिबाट गरिएको यस्तो निर्णयले संस्थाको गरिमामा आँच पु¥याउने काम भएको संयोजक गडतौलाले बताए । शाखाको काम कारबाहीलाई प्रभावित हुने नगरी केन्द्रीय समितिको निर्णयविरुद्ध शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रमहरू जारी राख्ने उनले बताए ।
यस बारेमा जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिका कार्यालयको समेत ध्यानाकर्षण गराइसकेको उनको भनाई छ । गत मंसीर १२ गते केन्द्रीय कार्य समितिको नयाँ पदाधिकारी चयनका लागि साम्देन लामा र यज्ञप्रसाद उप्रेती समूहले फरक फरक दुई स्थानमा अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गरेका थिए ।
केन्द्रीय समितिमा दुई पक्षको दुई सभापति भएपछि लामा समूह कानुनी उपचारका लागि अदालत पुग्यो । अदालतले पनि लामा समूहको पक्षमा अन्तरिम आदेश जारी गरिदियो । अन्तरिम आदेशको बलमा केन्द्रीय समितिका लामा पक्षले विभिन्न लाञ्छना लगाउँदै झापासहित अन्य जिल्लाहरू पनि शाखा विघटन गरी तदर्थ समिति गठन गरेको जनाइएको छ । झापाको हकमा सुशीला बस्नेतको नेतृत्वमा पाँच सदस्य तदर्थ समिति गठन गरिएको रहेछ ।
संस्थाको विधान बमोजिम २०८० सालमा निर्वाचन प्रक्रियाबाट गठित झापा शाखाका पदाधिकारीहरूको कार्यकाल सकिन करिब ६ महिना बाँकी छ । ६ महिना रहँदै लामा पक्षधरले विभिन्न आरोप लगाउँदै शाखा विघटन गर्नु संस्थाको विधान र अदालतको मर्म विपरीत रहेको पूर्व केन्द्रीय सभापति धनजुजु श्रेष्ठले बताए ।
अपाङ्ग संघ जस्तो सेवामुखि संस्थामा व्यक्तिगत स्वार्थ हाबी हुँदा यस्तो समस्या उत्पन्न भएको हो । ‘अदालतको पूर्ण पाठसहितको फैसला आउन बाँकी छ,’ उनले भने, ‘अन्तरिम आदेशबाट चलेको केन्द्रीय समितिको निर्णय विधान र संस्थाको हित विपरीत छ, जुन हामी मान्दैनौँ र मान्न दिँदैनौं ।’
लामा पक्षमा नलागेकै कारण झापा शाखाका पदाधिकारीप्रति विभिन्न आरोप लगाएर विघटन गरेको झापा शाखाका उपसभापति पवन श्रेष्ठले बताए । पदाधिकारीमाथि लगाएको आरोप पुष्टि नगरुन्जेल केन्द्रीय समितिको कुनै पनि निर्णय नमान्ने उनको भनाई छ ।
संस्थामा आश्रित र सेवा लिइरहेका अपाङ्गता भएका व्यक्तिहरूको हकहित र सेवा प्रवाह तथा संरक्षणमा समेत बाधा पु¥याउने गरी अल्पकालीन आदेश प्राप्त गरेको केन्द्रीय समितिले चालेको यो कदमले झापा शाखाले सञ्चालन गर्दै आएको सेवा प्रवाहमा जटिलतासमेत निम्त्याएको शाखाका सचिव चन्दनकुमार महतोले बताए ।
विगत ६ वर्षदेखि सहारा विहीन १८ जना अपाङ्गता भएकाहरूको लागि पुनस्र्थापना सेवा सञ्चालन गर्दै आइरहेको बताउँदै सचिव महतोले भने, ‘अब उनीहरूको पालनपोषणमा पनि समस्या उत्पन्न हुने भयो ।’































