रेडक्रसको शिवसताक्षीमा शाखा गठन

0
1

झिलझिले,

राज्य पुनर्संरचनापछि स्थानीय तहको संरचनामा आधारित सेवा विस्तारको अभ्यासलाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटीले पनि आफ्नो संगठनात्मक ढाँचा परिवर्तन गर्ने क्रमलाई तीव्रता दिएको छ।

यही सन्दर्भमा झापाको शिवसताक्षी नगरपालिकामा पालिका तहको शाखा गठन गरिएको छ । स्थानीय तहसम्म मानवीय सेवाको पहुँच विस्तार गर्ने नयाँ कदमका रूपमा यसलाई हेरिएको छ। नेपाल रेडक्रस सोसाइटीको विधान २०२० को १८ औँ संशोधन २०८२ ले स्थानीय तहमा पालिका शाखा गठन गर्ने व्यवस्था गरेसँगै शिवसताक्षीमा उक्त संरचना कार्यान्वयनमा आएको हो।

शिवसताक्षी उपशाखाका सभापति गोविन्द काफ्लेको संयोजकत्वमा सात सदस्यीय पालिका समिति चयन गरिएको छ । यो समितिको सचिवमा पदमबहादुर थापा, कोषाध्यक्षमा बद्रीनाथ खनाल तथा सदस्यहरूमा खनी माया श्रेष्ठ, कल्पना चौलागाईं, कमल लामिछाने र पूर्णकुमार शाह रहेका छन्।

उपशाखा केन्द्रित संरचनाबाट पालिका तहमा रूपान्तरण हुँदै जाँदा रेडक्रसको सेवा प्रवाह अझ प्रभावकारी र प्रत्यक्ष हुने अपेक्षा आम सर्वसाधारणले गरेका छन्। शिवसताक्षी र पाँचगाछी उपशाखाका कार्यसमितिको संयुक्त भेलाले उक्त समिति चयन गरेको हो भने भेलाले पालिका शाखाको कार्यालय शिवसताक्षी–६, शिवगञ्जमा राख्ने निर्णयसमेत गरेको छ।

जिल्ला तहका पदाधिकारीहरूको सक्रिय उपस्थितिमा गठन प्रक्रिया सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्र चुडाल, उपमन्त्री प्रकाशचन्द्र खरेल, कोषाध्यक्ष ओमप्रकाश गौतम, कार्यालय प्रमुख हरिशरण खड्का तथा सल्लाहकार सदस्यहरू भक्तिप्रसाद सिटौला र लक्ष्मीप्रसाद ढकालको सहजिकरणमा कार्यक्रम भएको थियो।

नयाँ संरचना कार्यान्वयन भएसँगै अब झापामा १५ वटै स्थानीय तहमा रेडक्रसका शाखा रहने अवस्था सिर्जना भएको छ। यसअघि केन्द्रीय समिति, जिल्ला शाखा र विभिन्न उपशाखामार्फत सेवा प्रवाह हुँदै आएकोमा अब पालिका तहमा प्रत्यक्ष संरचना स्थापना हुँदा विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा र मानवीय सहयोगका गतिविधि अझ छिटो र प्रभावकारी हुने विश्वास गरिएको छ।

समितिका संयोजक गोविन्द काफ्लेका अनुसार आज गठन गरिएको पालिका समिति औपचारिक रूपमा केन्द्रीय समितिले अनुमोदन गरेपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। उनले स्थानीय तहसम्म रेडक्रसको उपस्थिति मजबुत हुँदा समुदायसँगको सम्बन्ध अझ सुदृढ हुने र आपत्कालीन अवस्थामा तत्काल प्रतिक्रिया दिन सहज हुने बताए।

स्थानीय तहको ढाँचामा रेडक्रस विस्तार हुनु संरचनात्मक परिवर्तन मात्र नभई सेवा पहुँचको पुनर्संयोजनका रूपमा लिइएको छ। यसले शिवसताक्षी जस्ता क्षेत्रमा मानवीय सेवाको दायरा फराकिलो बनाउँदै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसअघिको शिव शताक्षी उपशाखाले कोशी प्रदेशमै अन्य उपशाखाको तुलनामा रचनात्मक मानवीय सेवा का गतिविधिहरू सञ्चालन गरेको थियो। शिवशताक्षिका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जुनियर रेडक्रस सर्कल गठन गरेर विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here