डीएसपी श्रेष्ठले होटलबाट मासिक ८०,००० लिएको खुलासा

0
1
  • बेलाबखत ‘छापा’ मारेर बार्गेनिङ यौनकर्मीलाई नगदको साटो लागूऔषध
  • रकम लिएर डान्सबार सञ्चालन रोकेपछि प्रहरीमाथि खनिए व्यवसायी

झापा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले बिर्तामोडमा सञ्चालित केही होटलबाट मासिक ८० हजार रुपैयाँ असुल्दै आएको खुलेको छ ।
होटल व्यवसायी राम राजवंशीलाई अघि सारेर उनले होटलबाट मासिक ८० हजार रुपैयाँ लिँदै आएको खुलेको हो । ताप्लेजुङ पाथीभरा होटल तथा दाजुभाइ होटल एण्ड लजका सञ्चालक समेत रहेका राजवंशीले डीएसपी श्रेष्ठलाई मासिक रकम बुझाउने गरेको व्यवसायीको भनाइ छ । होटल सञ्चालकहरूले प्रहरीलाई मासिक ८० हजार रुपैयाँ बुझाएर पछि होटलमा अवैध यौनधन्दा ‘देह व्यापार’ सञ्चालन गर्न दिने गरेको उनको भनाइ छ ।
त्यस्तै बिर्तामोडमा सञ्चालित डान्सबारहरुले मासिक ४० हजार रुपैयाँ बुझाउँदै आएको डान्सबार सञ्चालक मध्येका एक व्यक्तिले बताएका छन् । निर्वाचन अघिसम्म नियमित पैसा बुझाउँदै आएका थियौं– उनले भने– एक दिन पैसा बुझाउन ढिला हुँदा होलीको अघिल्लो दिन हाम्रो डान्सबारमा छापा मारेर स्टाफलाई पक्राउ गरियो ।
प्रहरीलाई रकम बुझाउने डान्सबारले बिहान ५ बजेसम्म पनि खुलेआम डान्सबार सञ्चालन गरिरहेका हुन्छन्– उनले भने– बिर्तामोडस्थित एक डान्सबार ११ बजेपछि स्वयम् प्रहरीको उपस्थितिमा बिहान ५ वजेसम्म सञ्चालन गरिन्छ । बिर्तामोडमा तृष्णा, डीडब्लू, स्टार डान्सवार, जन्नत, नाइट लाइफ द नाइट लगायतका आधा दर्जनभन्दा बढी डान्सबार सञ्चालनमा छन् ।
भारतीय नागरिकलाई लक्षित गर्दै हामीले डान्सबार सञ्चालन गरेका हौं– नाइटलाईफ डान्सबारका सञ्चालक नवीना राजवंशीले भनिन्– ११ वजेपछि ग्राहक आउँछन् । तर, प्रहरी ११ बज्नअघि नै आएर ढोकामा बस्छ । क्यासिनो खेल्न आएका अधिकांश भारतीय नागरिक डान्सवार छिर्छन्– उनले भनिन्– प्रहरीलाई रकम नबुझाएर धरै छैन । दिनहुँ प्रहरीले हैरान बनाएपछि ग्राहक आउन छाडेको उनको भनाइ छ ।
त्यसो त अर्जुनधारा–११ स्थित टेकबहादुर गिरी बसपार्क र बिर्तामोडको मुक्तिचोक आसपासका होटलहरूमा अवैध रुपमा यौनजन्य गतिविधि भइरहेको प्रहरी स्रोतकै दावी छ । बिर्तामोड आसपासका २२ वटा विभिन्न होटलमा यौनकर्मी राखेर व्यवसाय सञ्चालन हुँदै आएको र त्यसका लागि प्रहरीसम्म मासिक रूपमा रकम पुग्ने गरेको रिपोर्ट समेत सार्वजनिक भएको छ । सुरक्षा निकायले नै तयार गरेको एक विशेष रिपोर्ट अनुसार होटलमा देहव्यापार सञ्चालनमा बालिकाको समेत प्रयोग हुँदै आएको छ ।
स्रोतका अनुसार ती होटलहरूमा ४ देखि १० जनासम्म यौनकर्मी राखेको र त्यसमध्ये धेरैजसो युवती लागूऔषध प्रयोगकर्ता र नाबालिक समेत हुने गरेको दाबी गरिएको छ । ग्राहकसँग एक पटकको यौनसम्पर्कका लागि लिइने रकमबाट आधा हिस्सा होटल सञ्चालकले राख्ने र बाँकी यौनकर्मीलाई दिने प्रचलन रहेको बताइएको छ । यौनकर्मीलाई नगदको साटो लागूऔषध उपलब्ध गराएर उनीहरूलाई नियन्त्रणमा राख्ने प्रवृत्ति समेत रहेको बुझिएको छ ।
उक्त गतिविधि सञ्चालन गर्न बसपार्क क्षेत्रका होटलहरूबाट मासिक ८० हजार रुपैयाँसम्म संकलन गरी बिचौलियाको रुपमा रहेका राजवंशीमार्फत प्रहरीसम्म पु¥याइने गरेको खुलेको हो । प्रहरीले बेलाबखत होटलमा ‘छापा’ मारेर बार्गेनिङ गर्ने र आर्थिक मिलेमतोपछि पुनः सञ्चालन गर्न दिने अभ्यास रहेको समेत खुलेको छ । बिर्तामोड क्षेत्रमा लागूऔषध कारोबार, आपराधिक गतिविधि तथा यौनजन्य जोखिम बढाउने सम्भावना उच्च रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्राप्त विवरण अनुसार देहव्यापारमा संलग्न होटल तथा सञ्चालकहरूमा ताप्लेजुङ पाथीभरा होटल (राम राजवंशी), दाजुभाइ होटल एण्ड लज (राम राजवंशी), पाथीभरा होटल एण्ड लज (सुबास मगर), पुरानो निशा होटल (बादल राई), नमस्ते होटल (सन्दीप गजमेर), गुड लक होटल (बिजु गजमेर), सोल्टी होटल (अभिषेक राई), स्टे ह्याप्पी होटल (अमृता लिङ्देन), बीएण्डबी होटल र सगरमाथा होटल (लक्ष्मीप्रसाद रिजाल), लाफा होटल (सुबास मगर), इलामेली ब्रदर (कुशल न्यौपाने), ताप्लेजुङ भुम्बेदिन होटल (रामकुमार म्याङ्गबो), आसेङ्ग होटल एण्ड लज (पदम तामाङ), सांग्रीला होटल एण्ड लज (जानुका बुढाथोकी), न्यूसाइनो होटल एण्ड लज (चन्द्रकला अगुवा), दार्जीलिङ होटल एण्ड लज (सुजनकुमार थापा), तिर्खा होटल एण्ड लज (कञ्चन तामाङ) लगायत रहेका छन् ।
त्यसैगरी, कन्काई नगरपालिका–८ बिरीङ खोला आसपास सञ्चालित तम्बु खाजा घर एण्ड लजका सञ्चालकले लागूऔषध कारोबारमा समेत युवतीलाई संलग्न गराउँदै आएको प्राप्त विवरणमा उल्लेख छ ।
यता बिर्तामोडमा सञ्चालन भइरहेका डान्सबारहरूले प्रहरीलाई नियमित रकम बुझाए पनि रकम बुझाउन केही ढिलाई भए दैनिकजसो निगरानी र कारबाहीको सामना गर्नुपरेको बताएका छन् । जसका कारण आफूहरुले हैरानी खेप्नुपरेको उनीहरुको भनाइ छ ।
राति ११ बजेसम्म सञ्चालन अनुमति भएका डान्सबारहरू व्यापारको लोभमा रातभरि नै खुला राख्ने गरेका छन् । प्रहरीलाई मासिक रकम बुझाएर उनीहरुले डान्सबार निर्धक्क सञ्चालन गरेका छन् । तर, जिल्ला प्रहरी कार्यालय झापामा नयाँ प्रहरी प्रमुख बशुन्धरा खड्का आएसंगै प्रहरीको सेटिङ भत्किएपछि यो घटना सार्वजनिक भएको हो । यसअघि प्रहरीको नियमित ड्युटी होटल तथा डान्सवारको रेखदेखमा केन्द्रित थियो । सोमवार पनि राति १ बजेसम्म सञ्चालनमा रहेका चारवटा डान्सबारबाट केही दिनअघि प्रहरीले ७ जना कर्मचारी पक्राउ गरेसँगै प्रहरीले असुल्दै आएको रकमका विषयमा व्यवसायीले खुलेर बोलेका हुन् ।
प्रहरीले यसअघि स्टार डान्सबारका तारा प्रधान, तृष्णा डान्सबारका सुरेश राजवंशी र सुशन लेप्चा, डीडब्लु डान्सबारका सफल राई र राजकिशोर साह, नाइट लाइफ डान्सबारका युगल चौधरी तथा गन्तव्य डान्सबारका कृतन पौडेललाई पक्राउ गरेको थियो ।
रकम लिएर पनि सञ्चालकलाई पक्राउ गरेपछि प्रहरीको चौतर्फी आलोचना भएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको कमाण्डमा गएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
जिल्लामा डान्सबारहरूबाट अत्यधिक गुनासो आएपछि नियमित अनुगमन तीव्र पारिएको प्रहरी उपरीक्षक खड्काले बताएकी थिइन् । उनका अनुसार हालसम्म सचेत गराएर छोड्ने गरिएको भए पनि अब नियम उल्लंघन गर्नेमाथि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । ‘रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा अनुशासन पालना गर्नु आवश्यक हुन्छ’– उनले भनिन्– ‘नियम अनुसार सञ्चालन गरे समस्या आउँदैन ।’ डान्सबारमा देखिएको समस्याका विषयमा छलफल गर्न सञ्चालकहरूलाई प्रहरीले बोलाएर छलफल पनि गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here