गण्डकी,

पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’ कार्यक्रमका साथ सोमबारदेखि निस्केको होटल सङ्घ नेपाल (हान) पोखराको टोलीलाई पूर्वी नेपालका व्यवसायीले ‘कनेक्टिभिटी’ सहज बनाउन आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीलाई वीरगन्जमा यहाँका पर्यटन व्यवसायी, उद्योग व्यवसायी एवं सञ्चारकर्मीले कनेक्टीभिटी सहज बनाउनका लागि आग्रह गरेका हुन् ।
पर्यटकका लागि हवाई एवं सडक सञ्जालको सहज पहुँच आवश्यक भएकाले उनीहरूले त्यसका लागि वातावरण बनाउन अपरिहार्य भएको बताए । मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा विगतमा सञ्चालनमा आइसकेको पोखरा–सिमरा उडान रोकिनु दुःखद् विषय भएको बताउनुभयो ।
यस उडानलाई पुनः सञ्चालन गराउन आफ्नातर्फबाट पनि पहल गर्ने बताउँदै उहाँले यात्री अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा उडान सुरु गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताउनुुभयो । सीमानाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दूरीमा सात ठाउँमा सुरक्षा जाँच गर्ने गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उहाँले कनेक्टिभिटी सहज बनाउनुुका साथै आवश्यक पूर्वाधार विकासमा जोड दिनुुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले राज्यको नीतिगत त्रुटिका कारण पर्यटन व्यवसाय समस्यामा परिरहेको बताउँदै पर्यटनमैत्री नीति निर्माणमा जोड दिनुुभयो । पर्यटनलक्षित पूर्वाधार विकाससँगै सहज कनेक्टिभिटी र पर्यटनमैत्री व्यवहार आवश्यक हुने उहाँको भनाइ छ ।
पत्रकार प्रणय शाहले पछिल्ला समयमा विभिन्न पूर्वाधार विकासका नाममा पोखराको प्राकृतिक सौन्दर्य प्रभावित बनिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्का सञ्चाकर्मी सुरेश बिडारीले पोखराका पर्यटकीय सौन्दर्य फेवाताललार्ई बचाउन आग्रह गर्दै हिमालको संरक्षणका लागि पनि चासो दिनु आवश्यक हुने धारणा राख्नुभयो ।
आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ २५ वर्षअघि सुरु गरिएको अभियानको निरन्तरतास्वरुप पूर्वी नेपालका वीरगन्ज, विराटनगर, इलाम र हेटौँडा यसपटकको अभियानमा समेटिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
माओवादी द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड हुँदै बैंकको ब्याज र पश्चिम एसिया तनावका कारण नेपाली पर्यटन प्रभावित बनिरहेको उहाँले बताउनुुभयो । विगतमा सञ्चालन भएर पनि रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः सञ्चालन गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
पोखराका होटलमा रु छ खर्ब हाराहारी लगानी रहेको जानकारी दिँदै उहाँले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत आन्तरिक पर्यटक रहने गरेको बताउनुभयो । यही चैत २९ देखि वैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँ वर्ष महोत्सवमा सहभागिताका लागि पूर्वेली नागरिकलाई निम्तो दिनु ुपनि आफूहरूको कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । महोत्सवका अवसरमा पाहुनालाई होटलमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन बोर्डले व्यवसायीसँग सहकार्य गर्दै अघि बढिरहेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गर्नुभयो ।































