कीचकबध क्षेत्रमा श्रीमद्भागवत महापुराण आयोजना हुने

0
14

भद्रपुर ।

झापाको भद्रपुरस्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कीचकबध क्षेत्रमा सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। भद्रपुर नगरपालिका–३ मातातीर्थ तथा बिष्णुपादुका मन्दिर परिसरमा आगामी बैशाख ६ गतेदेखि १३ गतेसम्ममा श्रीमद्भागवत महापुराण धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।

अधुरो भवन तथा अक्षयकोष स्थापनार्थका लागि सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको बुधवार पत्रकार सम्मेलन मार्फत मातातीर्थ तथा बिष्णुपादुका मन्दिर पुराण मूल आयोजक समितिले जानकारी गराएको हो । धार्मिक तथा पर्यटकीय कीचकबध क्षेत्रमा स्थापित मन्दिरमा बैशाख ६ गते महायज्ञको विधिवत् उद्घाटन गरिनेछ भने बैशाख ७ गतेदेखि १३ गते सम्म नियमित रूपमा सप्ताहव्यापी ज्ञान महायज्ञ सञ्चालन हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद खनालले बताए ।

महायज्ञ अवधिभर दैनिक रूपमा पूजा पाठ, कथा प्रवचन, भजन–कीर्तन तथा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन जस्ता कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाई छ । यस महायज्ञमा पण्डित पदम पौड्याल ज्युको मुखारबिन्दबाट श्रीमद्भागवतको मूलपाठ पारायण तथा पण्डित उदय खनाल शास्त्री ज्युद्वारा भागवत कथा वाचन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिने कार्यक्रम रहेको मन्दिर समितिका उपाध्यक्ष तारा सुबेदीले बताइन् ।

२०६८ सालमा मन्दिर समिति गठन गरी विभिन्न दाताहरूको सहयोगमा २०७४ सालमा मातातीर्थ तथा बिष्णुपादुका मन्दिर निर्माण गरेको बताउँदै उपाध्यक्ष सुबेदीले भनिन्, कीचकबध क्षेत्रमै रहेको यो मन्दिर विषेशत पितृ उद्दारका लागि निर्माण गरिएको हो ।

भद्रपुर क्षेत्रमा कुनै पनि मन्दिर यस्तो किसिमको नभएको र यो अपरिहार्य भएकाले यो मन्दिर स्थापना गरिएको उनको भनाई छ । हालसम्म कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाबाट कुनै किसिमको पनि सहयोग प्राप्त नभएका कारण श्रद्धालु भक्तजनहरूको साथ सहयोगबाट जेनतेन चलिरहेको सहसचिव नेत्र दाहालले बताए ।

महायज्ञमार्फत सङ्कलित रकमबाट निर्माणाधीन भवन पूर्ण गर्न र अक्षयकोष स्थापनाका लागि यो महायज्ञ लगाउन लागेको उनले बताए । महायज्ञमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको सहभागिता रहने भएकाले स्थानीय धार्मिक तथा पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने आयोजकले विश्वास लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here