झापा, झापाको अर्जुनधारा नगरपालिकामा खोला उत्खननसम्बन्धी कार्यमा अनियमितता भएको आरोप लगाउँदै नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।
नगर समिति सभापति हेमप्रसाद खरेलद्वारा जारी पत्रमा अर्जुनधारा–१ क्षेत्रमा सञ्चालित खोला उत्खनन कार्यले स्थानीय जनजीवनमा नकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ । विशेषगरी बस्ती नजिकैबाट भइरहेको उत्खननका कारण खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै वातावरणीय जोखिमसमेत बढेको जनाइएको छ।
पत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा निर्धारित मापदण्ड पालना नगरिएको आरोप लगाइएको छ। भारी मेसिन प्रयोग गरी जथाभावी उत्खनन गर्दा खोलाको सतह गहिरिँदै गएको र यसले भविष्यमा सिंचाइ तथा खानेपानीमा समेत समस्या उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।
यसैगरी, सार्वजनिक सुनुवाइ तथा वातावरणीय प्रभाव मूल्यांकन (क्ष्भ्भ्) प्रक्रिया बेवास्ता गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। स्थानीयवासी र जनप्रतिनिधिबाट पटक–पटक आवाज उठाउँदा समेत नगरपालिकाले बेवास्ता गरेको आरोप पत्रमा उल्लेख छ।
नगर कार्यपालिकाका विभिन्न निर्णयहरूमा समेत पारदर्शिताको अभाव देखिएको कांग्रेसको दाबी छ। वेबसाइटमा राखिएका निर्णय र वास्तविक कार्यान्वयनबीच असमानता देखिएको भन्दै कार्यपालिकाको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ।
कांग्रेसले उत्खननसम्बन्धी निर्णयहरू तत्काल सच्याउन, मापदण्डअनुसार कार्यान्वयन गर्न र यसबाट उत्पन्न समस्याप्रति स्थानीय सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ। अन्यथा, कडा विरोध र आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।
नगर क्षेत्रमा भइरहेको प्राकृतिक स्रोतको दोहनलाई व्यवस्थित र पारदर्शी बनाउन स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।































