काठमाडौं : नयाँ वर्ष २०८३ सुरु हुन दुई साता मात्र बाँकी रहँदा वर्ष २०८२ नेपालको राजनीतिक दृष्टिले अत्यन्तै उतारचढावपूर्ण रह्यो। एकै वर्षमा मुलुकले तीन जना प्रधानमन्त्री पाएको छ।
वर्षको सुरुवातमै राजनीतिक अस्थिरता चुलिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गते पदबाट राजीनामा दिएका थिए। भ्रष्टाचार अन्त्य, सुशासन कायम र सामाजिक सञ्जालको नियमनको मागसहित युवा पुस्ताको सक्रिय सहभागितामा भएको आन्दोलनले सरकारमाथि दबाब बढाएको थियो।
त्यसपछि गत भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भइन्। उनको नेतृत्वमा निर्वाचनको मिति घोषणा गर्दै प्रतिनिधिसभा विघटन गरिएको थियो। छोटो कार्यकालमा उनले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पूरा गरिन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको दाबी गरिएको छ।
यसैसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आजदेखि प्रधानमन्त्री बनेका छन्। उनको नेतृत्वमा गठन भएको नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने जनाएको छ।
नयाँ सरकारप्रति जनताको अपेक्षा उच्च देखिएको छ। विगतका अस्थिर सरकारहरूका कारण निराश बनेका नागरिकले यसपटक स्थिरता र परिणाममुखी शासनको अपेक्षा गरेका छन्।
संविधानको धारा ७६ (१) अनुसार गठन भएको वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने विश्वास गरिएको छ। यद्यपि नेपालको विगतको राजनीतिक अनुभवले स्थायित्व कायम राख्नु चुनौतीपूर्ण रहने देखिन्छ।
अबको मुख्य प्रश्न भनेको—नयाँ सरकार जनअपेक्षा अनुसार काम गर्दै पूर्ण कार्यकाल पूरा गर्न सक्छ कि सक्दैन भन्ने हो।






























