झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । भक्तपुरको गुण्डुस्थित निजी निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओलीलाई निवासबाटै पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरिएको छ ।
प्रहरी टोली रातिदेखि नै गुण्डु पुगेको थियो । सोही प्रकरणमा ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कुटुन्जेस्थित निवासबाट आज बिहान पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
भदौ २३ गते भएको “जेनजी आन्दोलन” का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालको इतिहासमा कार्यकारी प्रमुख स्तरको व्यक्ति ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ । यसअघि राजनीतिक प्रकृतिका आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीहरू हिरासतमा परे पनि यस्तो किसिमको अभियोगमा पक्राउ परेका उदाहरण थिएनन् ।
तीन दिनअघि सार्वजनिक जाँचबुझ आयोगको प्रतिवेदनमा ओली, लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत “हेलचेक्र्याइँ गरी ज्यान मार्ने” कसुर लागेको उल्लेख छ । उक्त कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि घटनाले नयाँ मोड लिएको हो । गृहमन्त्री सुदन गुरुङ ले घटनाको अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार मृतक तथा घाइतेका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीले जरुरी पूर्जीका आधारमा पक्राउ गरेको बताइएको छ ।
अब पक्राउ परेका ओलीलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा पेश गरिने कानुनी प्रक्रिया अगाडि बढ्नेछ ।






























